कास्कीमा भेटेरिनरीतर्फ पुरानै कार्यक्रमको निरन्तरता

हिमाली आवाज ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले चालू आर्थिक वर्षका लागि अधिकाँस पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।
कार्यालयले दुध उत्पादनमा प्रोत्साहन, पशुमा पूर्ण खोप कार्यक्रम, साना व्यावसायिक फार्म स्थापना तथा विस्तार कार्यक्रम यस वर्ष पनि राखेको छ ।
यसैगरी पाडी बाच्छी हुर्काउन प्रोत्साहन सहयोग, पशुपन्क्षी पकेट विकास कार्यक्रम, नयाँ पोखरी निर्माण र पोखरी सुधारका गत वर्षकै कार्यक्रमलाई चालू वर्ष पनि निरन्तरता दिइएको छ । कार्यालयले एक कार्यक्रम आयोजना गरी चालू वर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

गत वर्षमा जिल्लामा व्यावसायिक कृषकले उत्पादनका आधारमा अनुदान पाएका छन् । जिल्लाका दूग्ध उत्पादक कृषकले समूह तथा सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम पाए । प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा अनुदान दिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले गत आर्थिक वर्ष नौ सहकारीलाई उत्पादनमा आधारित प्रोत्साहन रकम रु ४४ लाख ४६ हजार अनुदान वितरण गरेको हो ।

केन्द्रका प्रमुख शम्भुराज पाण्डेले १७ लाख ७९ हजार लिटर दूध उत्पादनमा साढे दूई रुपैयाँका दरले सहकारी मार्फत कृषकलाई प्रोत्साहन रकम उपलव्ध गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषकसम्म पुग्ने र अनुदानको दुरुपयोग हुन पाउँदैन ।

पाण्डेले भन्नुभयो,“उत्पादन गरेका आधारमा सरकारी अनुदान पाउनुपर्दछ भन्ने कृषकहरुको माग हो । त्यसैले हामीले जसले बढी उत्पादन गर्छ उसैले बढी अनुदान पाउने प्रोत्साहन कार्यक्रम ल्याएका हौँ । उत्पादन वृद्धि गरी आयात निरुत्साहित गर्न यसले योगदान दिएको छ । ”

कार्यालयले दूधमा प्रोत्साहन अनुदानका लागि गत वर्ष ४५ लाख बजेट विनियोजन गरेको थियो । सो अनुदान रकम कृषकले चौमासिक रुपमा प्राप्त गर्नेछन् ।

यसैगरी प्रदेश सरकाराद्धारा सञ्चालित पशुपन्क्षी कार्यक्रममा बीमा प्रिमियममा कार्यालयले २५ प्रतिशत अनुदान दिएको छ । कृषि तथा पशुपन्क्षी बीमा सङ्घीय सरकारको ७५ प्रतिशत र प्रदेश सरकारको २५ प्रतिशत गरी निःशुल्क गरिएको हो । जिल्लामा अघिल्लो वर्ष ८६५ कृषकले आफ्ना पशुपन्क्षीको बीमा गरेका छन् ।

गाई,भैँसी, बाख्रा, कुखुरा, बंगुर, भेडा÷च्याङ्ग्रा र माछा गरी तीन लाख १८ हजार ६२ पशुपन्क्षी बीमामा रु एक करोड १० लाख ८९ हजार भुक्तानी गरिएको मुख्य कार्यक्रम सञ्चालन गरिएको कार्यालयका पशु विकास अधिकृत एवं योजना शाखा प्रमुख सहदेव पौडेलले बताउनुभयो ।

यस वर्ष केन्द्रको बजेट रु नौ करोड ६५ लाख ७९ रहेकामा पूँजीगत खर्च तर्फका कार्यक्रमका लागि रु तीन करोड ६६ लाख ९८ हजार छ । यसैगरी चालू खर्चतर्फ रु पाँच करोड ९८ लाख ८९ हजार रहेको कार्यालयका अधिकृत पुष्पराज बास्तोलाले जानकारी दिनुभयो ।

Comments
Loading...