हिमाली आवाज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजदेखी पोखरामा ट्राइयाथलनको प्रतिस्पर्धा सुरु भएको छ ।
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा भएको पहिलो दिनको प्रतिस्पर्धामा नेपाली सेना र सशस्त्र प्रहरीले एक÷एक स्वर्ण पदक जिते । पुरुषतर्फ नेपाली सेनाका वसन्त थारु र महिलातर्फ एपिएफका सोनी गुरुङले स्वर्ण पदक जित्नुभएको हो ।
पुरुषतर्फ निर्धारित २० किमी साइक्लिङ, ७५० मिटर पौडी र पाँच किमी दौड एक घण्टा नौ मिनेट ४३ सेकेन्डमा पार गर्दै आर्मीका थारुले स्वर्ण पदक हासिल गर्नुभयो ।
यसैगरी महिलातर्फ निर्धारित दूरी एक घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गरी एपिएफका गुरुङले स्वर्ण पदक दिलाउनुभयो । प्रतियोगिताको पुरुषतर्फ निर्धारित दूरी एक घण्टा १० मिनेट पाँच सेकेन्डमा पार गरी सेनाका दीपेश चौधरीले रजत पदक जित्नुभयो ।

नेपाल प्रहरीका मौलिक महर्जनले निर्धारित दूरी एक घण्टा १४ मिनेट ५६ सेकेन्डमा पार कास्य पदक पाउनुभयो ।
महिलातर्फ नेपाल प्रहरीका श्रीवी महर्जनले एक घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पार गरी रजत पदक जित्दा सेनाका केशरी थापाले एक घण्टा ३२ मिनेट २९ सेकेन्डमा पार गरी कास्य जित्नुभयो ।
गण्डकी प्रदेशका आठ जिल्लामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका खेलहरु भइरहेका छन् । प्रतियोगितामा ३६ खेल खेलाइएको छ । प्रतियोगिताको यही असोज २८ गते भव्य उद्घाटन गरिएकामा भोली साँझ समापनको कार्यक्रम छ ।