जरिवाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम बन्दसूचीबाट हट्यो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन कानुन तथा आचारसंहितामा उलंघनमा परी जरिवाना नबुझाएका ३६९ सहित ५५० जनाको नाम बन्दसूची हटाउने निर्णय गरेको छ ।

उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले मंगलबार जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ जना उम्मेदवारहरूमध्ये ५५० जनाको नाम बन्दसूचीबाट हटाइएको उल्लेख छ ।

जसमा निर्वाचन कानून तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ जना रहेका छन् । उम्मेदवारहरूका सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझबाट थप १८१ जनाको नाम सूचीबाट हटाइएको छ । १८१ जनामध्ये लाभको पदमा बहाल रहेका एक जना र कालोसूचीमा रहेका एकजना व्यक्तिको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

Comments
Loading...