पोखराको भलाममा रहेको हरिहर सन्यास आश्रम चिनाउन वृत्तचित्र

हिमाली आवाज । पोखरा २० भलाममा रहेको ऐतिहासिक तथा धार्मिक तीर्थस्थल हरिहर गुफा सन्यास आश्रममा पुग्ने संख्या बढ्दो छ । आश्रमको प्रचारप्रसारका लागि आश्रम व्यवस्थापन समितिले विभिन्न गतिविधि गरिहेको छ ।

ओझेलमा परेको पोखरा २० भलामस्थित आश्रमको प्रचारप्रसार गर्ने उद्देश्यले बनाइएको वृत्तचित्र शनिबार सार्वजनिक गरिएको छ । स्थानीय समाजसेवी एवं आश्रमका आजीवन सदस्य दिनेश बस्नेतको पहलमा बनेको वृत्तचित्र गण्डकी प्रदेशका शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री पञ्चराम तमुले लोकार्पण गर्नुभयो।

आश्रमको भौगोलिक अवस्थिति, त्यहाँको वातावरण, आश्रमको ऐतिहासिकतासँगै धार्मिक समेटेर वृत्तचित्र निर्माण गरिएको बस्नेतले बताउनुभयो । समुन्द्री सतहदेखि १ हजार ३ सय मिटरमा  रहेको यो आश्रम १८ औं शताब्दीमै स्थापना भएको बताइन्छ ।

औपचारिक लिखत भने विस १९०६ बैशाखमा श्री ३ जंगबहादुर राणाले सनद पत्र जारी गर्दाको मात्रै भेटिएको छ । अन्नपूर्ण हिमश्रृंखलाका साथै पोखरा सहरका अधिकांश भाग दृश्यावलोकन गर्न सकिने आश्रम प्राकृतिक हिसाबले मनोरम र रमणीय स्थानमा छ ।

पोखराबाट करिब ८ किलोमिटरमा  रहेको यो आश्रममा तीजको श्रीपञ्चमी, हनुमान जयन्ती, शिवरात्री र बालाचतुर्दशीमा भक्तजनको भीड लाग्छ ।

मन्दिरका पीठाधीश अनन्त श्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले यो आश्रम तपस्वीहरुको तपोभूमिको बताए । उनले भने, ‘जल प्रदुषण, वायु प्रदुषण, मोटर प्रदुषणबाट मुक्त यो आश्रम साधु, सन्त, महात्माले तपस्या गर्ने तपोभूमि हो । आध्यात्मिक चिन्तनका लागि उपयुक्त यो आश्रममा तपस्वीहरुले ध्यान गर्ने गुफा पनि छ ।’

गण्डकी प्रदेशका शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री पञ्चराम तमुले पोखराको नजिक भएर पनि ओझेलमा परेको आश्रमको विकास र विस्तारका लागि मन्त्रालय र आफूले सक्दो प्रयत्न गर्ने बताउनुभयो ।

आश्रमका कोषाध्यक्ष रामजीप्रसाद पौडेलले सहयोग संकलन गरेर वृत्तचित्र निर्माण गरिएको बताउनुभयो । ५१ मिनेटको डकुमेन्ट्रीको लेखन तथा संयोजन दिनेश बस्नेतले गर्नुभएको हो ।  साहित्यकारसमेत रहनुभएका बस्नेतका ४ पुस्तक प्रकाशित छन् भने थप २ पुस्तक प्रकाशोन्मुख छन् ।

Comments
Loading...