पोखरा अन्तराष्ट्रिय म्याराथन :केन्याका स्टेफन र राजपुरालाई उपाधि

हिमाली आवाज ।सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जित्नुभएको छ । त्यसैगरी महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीका राजपुरा पछाइले हालि गर्नुभयो ।

पोखरामा आज सम्पन्न म्याराथन(४२.१९५) किमी दौडमा स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेण्डमा निर्धारिता दूरी पूरा गरी उपाधि रक्षा गर्नुभएको हो । उहाँ यसअघि १६ औँ संस्करणमा पहिलो सहभागितामा च्याम्पियन बन्दै रु पाँच लाख नगद पुरस्कार पाउनुभयो ।
यसैगरी केन्याकै धावक जुलियस मोरियकीले दुई घण्टा २० मिनेट ३७ सेकेण्डमा निर्धारित दूरी पार गरी द्धितीय बन्नुभएको छ । उहाँले नगद रु तीन लाख पुरस्कार पाउनुभयो ।

नेपाली सेनाका धावक होमलाल श्रेष्ठ तृतीय बन्न सफल हुँदै रु दूई लाख पुरस्कार पाउनुभयो । श्रेष्ठले निर्धारित दूरी दुई घण्टा २५ मिनेट १४ सेकेण्डमा पार गर्नुभएको हो । केन्याकै सिमोन म्याराथनमा चौथो बन्दै रु ३० हजार पुरस्कार पाउनुभयो ।

यसैगरी पोखरा म्याराथन अन्तर्गतको महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीका राजपुरा पछाईले उपाधिमा ह्याटिक पूरा गर्नुभएको छ ।
राजपुराले निर्धारित २१ किमी दूरी एक घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गर्दैै च्याम्पियन बनेर रु एक लाख ५० हजार पुरस्कार पाउनुभयो । उहाँले यसअघि विसं २०७७ र विसं २०७८ मा समेत उपाधि आफ्नो पोल्टामा पार्नुभएको थियो ।

सशस्त्र प्रहरीको एपिएफका बृन्दा श्रेष्ठले द्धितीय हुँदै रु एक लाख पुरस्कार पाउनुभयो । उहाँले निर्धारित दौड एक घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गर्नुभयो ।

नेपाली सेनाका पूर्णलक्ष्मी न्यौपानेले एक घण्टा २६ मिनेट ४९ सेकेण्डमा दौड पूरा गरी तृतीय बन्दै रु ७५ हजार पुरस्कार प्राप्त गर्नुभयो ।
नेपाल पुलिसका रेखा विष्टले एक घण्टा ३२ मिनेट चार सेकेण्डमा हाफ म्याराथन सम्पन्न गरी चौथो बन्नुभयो । उहाँले रु १५ हजार पुरस्कार पाउनुभयो ।

यसैगरी १० किमी महिला दौडमा सशस्त्र प्रहरीका आशा राउत उपाधि जित्नुभएको छ । उहाँले निर्धारित दूरी ५० मिनेट १२ सेकेण्डमा पूरा गर्नुभयो । नेपाल प्रहरीका वृष्मा कुमाल द्धितीय र नेपाली सेनाका कल्पना खड्का तृतीय हुनुभयो ।

पुरुष १० किमी दौडमा नेपाली सेनाका सञ्जय श्रेष्ठ प्रथम, सेनाकै सुवास कार्की द्धितीय र पाँचथरका दीपक सुहाङ तृतीय हुनुभयो ।
महिला तथा पुरुष १० किमीको दौडका प्रथम,द्धितीय र तृतीयले समान क्रमश ः रु ३० हजार, रु २० हजार र रु १५ हजार पुरस्कार पाउनुभयो ।

Comments
Loading...