देशभक्त र राष्टवादीहरुको कार्यनीति सहमति र सहकार्य,मुद्धामा समानता हुने दलसँग मोर्चावन्दी : महासचिव गुरुङ

हिमाली आवाज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकारले पूर्णता पाएसँगै देशमा तीव्र विकास र समृद्धिको अभियान अघि बढाइने बताउनुभएको छ ।

प्रगतिशिल चिकित्सक सङ्घ नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले एक÷दुई दिनमै सरकार विस्तार भएर पूर्णता पाएसँगै विकासलाई अघि बढाइने बताउनुभयो ।

महासचिव गुरुङले स्वास्थ्य, शिक्षा, रोजगार, आवास जस्ता जनताका मौलिक हक अधिकार पूरा गर्नुपर्ने दायित्व राज्यको भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,“मौलिक हकहरुको कार्यान्वयनका लागि मुद्धामा समानता हुने दलहरुसँग सहमति र सहकार्यका साथ अघि बढ्ने गरी मोर्चावन्दी गरेका छौँ । वर्तमान सरकारले पूर्णता पाएसँगै जनताको विकासको चाहना पूरा गर्ने गरी सरकारले काम गर्छ ।”

महासचिव गुरुङले सहमति र सहकार्यको मोडलमा जानुपर्दछ भन्ने देशभक्त र राष्ट्रवादी शक्तिहरुको कार्यनीति रहेपनि साम्राज्यवादीहरुले राष्ट्रिय सहमति हुन नदिने गरेको बताउनुभयो ।

“देशभक्त र राष्टवादीहरुको कार्यनीति सहमति र सहकार्य रहेको छ तर साम्राज्यवादीहरु राष्टिय सहमति हुन नदिने र एक दलले अर्को दललाई विस्थापित गर्ने नीतिका साथ अघि बढेका छन, सत्ता पक्ष र विपक्षमा लैजान खोजिएको छ ।”गुरुङले भन्नुभयो ।

माओवादी केन्द्रले राष्ट्रिय राजनीतिमा सहकार्यको नीति लिएको र मतभेद भएपनि सहमति भएको कुरा लागू गर्ने र मतभेद भएको थाँती राख्ने गरी अघि बढेको उहाँले उल्लेख गर्नुभयो ।

महासचिव गुरुङले स्वास्थ्यको हक जनताको मौलिक हक रहेकाले निःशुल्क स्वास्थ्य उपचार सेवाको विस्तारका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य यशोदा सुवेदी, पार्टी केन्द्रीय सदस्य एवं स्वास्थ्य विभागका फ्याक्सन इन्चार्ज कल्पना धमला, माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय अध्यक्ष वामदेव अर्याल, प्रगतिशिल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा कृष्णसागर शर्मा, केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या विभागका सदस्य डा गुणराज लोहनी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा बुद्धिबहादुर थापा लगायतले चिकित्सकको हक अधिकार सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको प्रगतिशिल जनस्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शिव केसीले जानकारी दिनुभयो ।

उद्घाटन सत्रको अध्यक्षता डा दिनेशकुमार विक र स्वागत मन्तव्य डा सरोज दाहालले गर्नुभएको थियो । कार्यक्रममा प्रगतिशिल जनस्वास्थ्यकर्मी महासङ्घका फ्याक्सन इन्चार्ज एवं माओवादी गण्डकी प्रदेश सदस्य मीनबहादुर गुरुङ, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासङ्घ गण्डकीका अध्यक्ष नवराज अधिकारी लगायतको उपस्थिति थियो ।

Comments
Loading...