आलु गाउँ हेमजामा ‘राष्ट्रिय आलु महोत्सव’ सुरु

हिमाली आवाज । आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका—२५ हेमजामा आजदेखी आलु महोत्सव सुरु भएको छ ।
‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ को नारा सहित आलु र तरकारी उत्पादनमा देशमै अग्रणी हेमजामा ११ औं संस्करणको सो महोत्सव गरिएको हो । हेमजाले पोखरा बजारलाई २५ देखी ३० प्रतिशत ताजा तरकारी आपूर्तिमा योगदान गरेको छ ।

महोत्सवको मुख्य आकर्षणमा आलुको पहाड निर्माण गरिएको छ । स्थानीय कृषकहरुबाट सङ्कलित ३५ टन आलुबाट पहाड निर्माण गरिएको आलु सङ्कलन तथा कृषि परिचालन उपसमिति संयोजक जयराज तिमिल्सिनाले बताउनुभयो ।आलुको पहाडबाटै आलु निकालेर बिक्री गरिन्छ भने बिक्री गर्दा घटेको आलु थपेर अन्तिम दिनसम्म आलुको पहाड कायम राखिने आयोजकले जनाएको छ ।

आलुको पहाडले मेलामा सहभागी दर्शकलाई आकर्षित गरेको छ । पहाड अघि तस्बिर लिनेहरुको भीड बढेको तिमिल्सिनाले बताउनुभयो । मेलास्थलबाटै आलु खरीद गर्नेहरुको बाक्लो उपस्थिति छ ।महोत्सवस्थलबाट प्रतिकिलो रु ३५ मा आलुको बिक्री वितरण गरिएको छ । महोत्सवमा करिब ४० टन आलु बिक्री हुने अपेक्षा गरिएको छ । महोत्सवमा कुल एक सय २० वटा स्टल रहेकोमा करिव २५ प्रतिशत कृषि स्टल छन् ।

महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउनुभयो ।नेपालमा कृषिलाई व्यवसायिक बनाउनुपर्नेमा उहाँको जोड छ । ‘कृषि नीति सुधार्ने तयारीमा छ । आगामी बजेट किसानमुखी बनाउने गरी काम गरिरहेका छौँ ।” गुरुङले भन्नुभयो।

प्रदेशसभा सदस्य गणेशमान गुरुङले कृषि कर्म गर्दा खुशी हुने संस्कारको सुरुआत गर्नुपर्ने बताउनुभयो । कृषि पेशालाई प्रविधिमैत्री बनाउन उहाँले आग्रह गर्नुभयो ।

कृषि मन्त्रालयका सचिव डा सहदेवप्रसाद हुमागाईले हेमजा र आलु पर्याय जस्तै भएको बताउँदै महोत्सवले बजारीकरणमा सहयोग पुगेको बताउनुभयो ।

आलु विज्ञ श्यामप्रसाद ढकालले हेमजावासीलाई नियमित खाने र उद्योगसँग जोड्ने गरी आलुको उत्पादनमा लाग्न सुझाव दिनुभयो ।
पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवले हेमजालाई मात्र नभई समग्र पोखरा क्षेत्रलाई नै विश्वभर चिनाएको औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका भरतराज ढकाल, हेमजाका अगुवा कृषक चित्रनाथ पौडेल लगायतले महोत्सव कृषकको उत्सावमा रुपमा स्थापित भएको बताउनुभयो ।महोत्सव सुरु हुनुपुर्व मिलनचोकबाट महोत्सव स्थल विष्णुपादुका खेलमैदानसम्म कृषि झाँकी सहित शोभायात्रा निकालिएको थियो । उक्त शोभायात्रामा सयौं हेमजावासीले आलुका साथै कृषि उपजका माला लगाई नाचगान गर्दै रमाइलो पनि गरे ।

महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकारहरु प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान गरिनेछ ।यसैगरी कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम हुने आयोजक संस्थाका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार हुने, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरणा मिल्ने, क्लब भवन, तरकारी संङकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने लगायतका उद्देश्य पनि राखिएको छ ।

कोरोना भाइसरका कारण विगत ३ वर्षसम्म हुन नसकेको महोत्सवलाई यस वर्षदेखि क्लबले निरन्तरता दिएको हो । महोत्सव आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ ।

Comments
Loading...