हिमाली आवाज । आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका—२५ हेमजामा आयोजना भएको राष्ट्रिय आलु महोत्सवमा रु २८ लाख बराबरकोे बिक्री भएको छ ।
स्थानीय विष्णु पादुका युवा क्लबले ‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ को नारा सहित गत चैत २६ गतेदेखी महोत्सव सञ्चालन गरेको थियो । महोत्सव आज सकिएको हो ।
महोत्सवस्थलमा आलुको पहाड निर्माण गरिएको थियो । सोही पहाडमा बिक्री गरिएको हो । महोत्सवस्थलबाट ८० टन आलुको बिक्री भएको आलु सङ्कलन तथा कृषि परिचालन उपसमिति संयोजक जयराज तिमिल्सिनाले बताउनुभयो । महोत्सवमा प्रतिकेजी रु ३५ मा बिक्री गरिएको थियो ।
कृषक तिमिल्सिनाले हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले उपभोक्ताको माग बढी भएको बताउनुभयो । उहाँका अनुसार यहाँको आलुको माग पोखरा भन्दा बाहिर पनि बढी हुने गरेको छ । हेमजा आलु सहित तरकारी उत्पादनमा समेत अग्रणी स्थानमा रहेको छ ।
हेमजाले पोखरा बजारलाई २५ देखी ३० प्रतिशत ताजा तरकारी आपूर्तिमा योगदान गरेको छ । महोत्सवमा कूल रु पाँच करोड बराबरको कारोबार भएको बताइन्छ ।
महोत्सव समापनका अवसरमा अग्रक कृषकहरुलाई सम्मान गरिएको छ ।पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्र र नगद सहित सम्मान गरिएको हो ।
हेमजाका आलु उत्पादक कृषकहरु देवीरमण पौडेल, अमृत पौडेल,बीरबहादुर कार्की, सुनिता श्रेष्ठ, शीलशोभा नेपाली र निरज तिमिल्सिना सम्मानित हुनुभयो । कृषि तथा पशु विकास शाखाले कार्यक्रममा किसान परिचय पत्र पनि वितरण गरेको थियो।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले क्लबले आगामी वर्षदेखि आलु महोत्सवलाई रातो किताबनै व्यवस्था गरी बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
एक वडा एक उत्पादनका लक्ष्य सहित महानगर अगाडि बढिरहेको छ प्रमुअ आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,“कृषिलाई आय आर्जनसँग जोड्न सकेमात्रै समृद्धि हासिल हुनसक्छ ।”
कार्यक्रममा पोखरा वडा नं २५ का वडाध्यक्ष मोतिप्रसाद तिमिल्सिना, पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया विष्णुपादुका माविका अध्यक्ष कृष्ण नेपाली, महिला संजाल हेमजा अध्यक्ष रमा त्रिपाठी, मानव सेवा आश्रमका अभियान्ता मदन थापा, कृषि संजालका अध्यक्ष राजेन्द्र कार्की लगायतले महोत्सव कृषि उत्पादनको बजारीकरणका लागि सफल भएको बताउनुभयो ।
महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी गरिएको थियो ।
कोरोना भाइसरका कारण विगत ३ वर्षसम्म हुन नसकेको महोत्सवलाई यस वर्षदेखि क्लबले निरन्तरता दिएको हो ।