भुर्जुङखोलाको नयाँवर्ष मेला सकियो:पुरुष भलिबलको उपाधि ठकुरी समाजलाई

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २ भुर्जुङखोलामा सञ्चालन भएको नयाँवर्ष मेला आज सकिएको छ ।
स्थानीय ग्रीनफोर्स युवा क्लबले क्लबको १५ औँ स्थापना दिवसका अवसरमा नयाँवर्ष मेला आयोजना गरेको थियो । यही वैशाख १ गतेदेखी सुरु भएको मेला विभिन्न कार्यक्रम सहित आज सम्पन्न भएको हो ।

मेलाका अवसरमा आयोजना गरिएको पुरुष भलिबल(मिनि खुला)को उपाधि ठकुरी समाज बाबियो डाँडा तनहुँले जितेको छ । आयोजक ग्रीन फोर्स युवा क्लबलाई पराजित गर्दै ठकुरी समाज च्याम्पियन बन्यो । उपधि विजेता ठुकरी समाजले रु ९९ हजार ९९९ र उपविजेता ग्रीनफोर्सले रु ५५ हजार ५५५ पुरस्कार पाउन सफल भयो ।यसैगरी महिला भलिबलको उपाधि आयोजक ग्रीन फोर्स युवा क्बले जित्दा उपविजेता एशियन सुज लामाचौर भयो ।

४० वर्षमाथिको भेट्रान भलिबलको उपाधि आयोजक ग्रीन फोर्स जित्यो भने उपविजेता एक्स आर्मी भुर्जुङ खोला बनेको छ ।यसैगरी ठेलो प्रतियोगितामा किरण सुनार प्रथम र रविन सुनार द्धितीय हुनुभयो ।

महिला रस्काकस्सीमा सुनौलो आमा समूह घाचोक प्रथम र घडेरी आमा समूह द्धितीय बने । पुरुषतर्फ ३५ वर्षमाथि रसी तान्ने प्रतियोगितामा खाँदरजुङ गाउँका साथीहरु पहिलो र विन्ध्येश्वरी युवा क्लब पोखरा—१९ द्धितीय भए । मकै गन्ने प्रतियोगितामा सुशान गुरुङले उपाधि जित्नुभयो । महिला आमा म्युजिकल चियरमा गुमा आचार्य प्रथम, द्धितीय निरमाया तामाङ, तृतीय कृष माया गुरुङ र उषा रेग्मीले सान्त्वना स्थान हासिल गर्नुभयो ।विभिन्न प्रतियोगिता खेलहरु अनिल गुरुङ, गणेश घिमिरे, अञ्जु थापा र विमल रानामगरले सञ्चालन गर्नुभएको थियो ।

मेलाको समापन समारोहका प्रमुअ अतिथ गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले माछापुच्छ्रे गाउँपालिकाको खेलकुद, शिक्षा, पर्यटन र पूर्वाधार विकासका लागि आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो,“यो क्षेत्र मेरो निर्वाचन क्षेत्र त प्रदैन । तर यहाँको विकास निर्माणमा पहिलादेखीनै जोडिएको हिसाबले आगामी दिनमा पनि यहाँका जनताको भावना र विकासको तीव्र चाहनालाई मैले सम्वोधन गर्नेछु ।”

माछापुच्छ्रे गाउँपालिका वडा नं २ का वडाध्यक्ष गणेश आचार्यले भुर्जुङखोला खेल मैदानको स्तरोन्नतिका लागि सहयोग गर्न आग्रह गर्नुभयो । विगतमा समेत सो खेल मैदानका लागि संघीय सरकारबाट सहयोग नभएकाले आगामी दिनमा प्रदेश र संघबाट सहयोगका लागि पहल गरिने बताउनुभयो ।

वडाध्यक्ष आचार्यले पूर्व वडाध्यक्ष लगायत वडाका जनप्रतिनिधिबाट खेल मैदानका लागि सहयोग प्राप्त भएको बताउनुभयो । आचार्यले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कारण वडा र स्थानीय सरकारले काम गर्न अप्ठ्यारो भएको र प्राकृतिक स्रोतको उपयोग गर्न नसकिएको बताउनुभयो ।

कार्यक्रममा माछापुच्छ्रे वडा नं १ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिका सामाजिक क्षेत्र निर्देशक बमबहादुर गुरुङ, नेपाली काँग्रेस माछापुच्छ्रे गाउँ कमिटीका सहसचिव राजाराम पौडेल, नेकपा(एमाले) पोखरा वडा नं १९ का अध्यक्ष विष्णु गौतम लगायतले मेला भव्यताका साथ सफल भएकामा आभार व्यक्त गर्नुभयो ।

आयोजक ग्रीनफोर्स युवा क्लबका अध्यक्ष राम गुरुङले मेलालाई सफल बनाउन स्वदेश तथा विदेशबाट सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरुप्रति आभार व्यक्त गर्दै निरन्तर सहयोग अपेक्षा रहेको बताउनुभयो ।कार्यक्रम सञ्चालन क्लबका सचिव देवेन्द्र भुजेलले गर्नुभएको थियो ।मेलाको पाँच हजार जनाले अवलोकन गरेका थिए ।

यसअघि नयाँवर्षको दिन वातावरण जोगाउन धुवाँरहित साइकल चढ्न प्रेरित गर्ने उद्धेश्यले ‘भुर्जुङखोला तातोपानी माउन्टेन बाइक रेस’ आयोजना गरिएको थियो ।

माछापुच्छ«े गाउँपालिका—२ भुर्जुङखोला पोखराको बगरदेखी १२ किमी उत्तरमा पर्दछ । यस स्थानमा प्राकृतिक वरदानका रुपमा तातोपानी कुण्ड छ । खारपानीस्थित सेती नदी किनारमा रहेको तातोपानी नुहाउनका लागि आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ ।

हिउँदयाममायहाँ कृषि सहकारी मार्फत एक र निजीस्तरबाट दुई स्थानमा विश्वकै प्रसिद्ध रेन्बो ट्राउट माछा पालन केन्द्र छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई गुरुङ गाउँ काभ्रे गाउँमा होमस्टे सञ्चालन गरिएको सोही वडाका वडाध्यक्ष गणेश आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो,“यस क्षेत्रमा विभिन्न जात जातिका आआफ्नै भेषभुषा, भाषा र संस्कतिहरु छन् । यस्ता संस्कृतिहरु बढ्दो सहरीकरणसँगै लोप हुने अवस्थामा पुगेकाले मेलामार्फत संस्कृति संरक्षण र सम्वद्र्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ । ”

भुर्जुङखोलाको भराभरीमा ढुङ्गाखानी, दलाममा महभिर, घलेखर्क लघुजलविद्युतगृह, खादरजुँगको मौलाकोट, घोप्टेडाँडा, सिल्दु देउरालीमाई, भुर्जुङखोलाको मुल्का बराहथान, मनोरम छहरा र घाचोकको एकनासे भिरले स्वदेशी तथा विदेशी पर्यटकहरुको मन जितेको छ ।

Comments
Loading...