हिमाली आवाज । आमाको मुख हेर्ने दिनको अवसर पा‘आमा भनेकै आमा हुुन्’ गीतको भिडियोको बुधबार पोखरामा लोकार्पण गरिएको छ ।
संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल र गायक बानियाँका आमा चिजमाया मल्ल र शान्ति बानियाँले एक कार्यक्रमका बीच लोकार्पण गर्नुभयो । भिडियोको निर्देशन नेत्र गुरुङले गर्नुभएको छ ।
गीतकार मल्लले आफ्नो पेशा सञ्चारकर्म भएपनि साहित्य रूचिको बिषय भएको बताउनुभयो । रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर समेत रहनुभएका मल्लले सन् २०१५ मामातातिर्थका दिन आमालाई समर्पण गरेर लेखिएको कविता ८ बर्षपछि श्रोता÷दर्शक समक्ष ल्याउन पाउँदा खुसी लागेको सुनाउनुभयो ।
कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले आमा शब्द आफैमा महान भएको भन्दै सानैमा आमा गुमाएकाले आमा भन्ने वित्तिकै गला अवरूद्ध हुने गरेको अनुभव सुनाउनुभयो । नेपाल आमा सबै भन्दा दुःखी रहेको भन्दै श्रेष्ठले नेपाल आमाको मुहारमा खुसीदिन सक्नुपर्ने बताउनुभयो।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले आम मानिसले बाँचेको जीवनको पाटोलाई गीतले समेटेको बताउनुभयो । आमा औंसीका दिन सामाजिक सञ्जालका भित्ताहरू फोटाले भरिने गरेको भन्दै बुढेसकालमा आमाहरूलाई वृद्धाश्रममा देख्न नपरोस भन्दै कामना गर्नुभयो ।
प्राज्ञ तथा बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले आमा शब्दको महिमा बिशाल रहेको भन्दै गीतको म्युजिक भिडियो हेर्दे गर्दा आफ्नो आमाको दुःखलाई सम्झिएको बताउनुभयो ।
गायक विनोद बानियाँले कविता निकै मन परेकाले कम्पोज गरी गीतको रूपमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । निर्देशक नेत्र गुरुङले शब्दले निकै मन छोएको सुनाउनुभयो । कास्कीकोटमा छायांकन गरिएको गीतको भिडियोमा खिमकुमारी सुवेदी र अनिल कार्कीको अभिनय रहेको छ।