कास्कीले जित्यो गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड

हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डको उपाधि कास्कीले जितेको छ । प्रतियोगितामा सहभागी १० जिल्ला मध्येमा कास्की च्याम्पियन बन्यो ।

‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारा सहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा आज सम्पन्न प्रतियोगितामा कास्कीले १४ स्वर्ण, १३ रजत र पाँच कास्य गरी कुल ३२ पदक जितेर च्याम्पियन बनेको हो ।

गत वर्षको विजेता बागलुङले १० स्वर्ण, पाँच रजत र १० कास्य पदक गरी कुल २५ पदकका साथ द्धितीय भयो । नवलपुर जिल्लाले सात स्वर्ण, तीन रजत र आठ कास्य गरी कुल १८ पदक जित्दै तृतीय स्थान हासिल गरेको हो ।

पोखरा रङ्गशालामा आज सम्पन्न भलिबल फाइनलमा नवलपुर विजयी भएको छ । नवलपुरले २८–२६, २५–२० ले बागलुङलाई पराजित गरेको हो भने पर्वतले गोरखालाई २५–२०, २५–१८ ले जित्दै तृतीय भयो ।

छात्रा भलिबलमा कास्कीले उपाधि जित्यो । कास्कीले स्याङजालाई २५–१८, २५–२१ ले फाइनल खेल जित्दा म्याग्दीले तनहुँलाई २५–२०, १९–२५ र २५–१९ ले जितेर तृतीय भएको छ ।

एथलेटिक्सतर्फ कास्कीले छ स्वर्ण आठ रजत पदक जित्दै प्रथम भएको छ भने नवलपुर पाँच स्वर्ण, एक रजत र पाँच कास्य पदक जितेर द्धितीय तथा स्याङजाले चार स्वर्ण र एक कास्यका साथ तृतीय भए ।

यही वैशाख ११ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा छ वटा खेलहरु भएका थिए । जस मध्ये मार्शल आर्टतर्फ छात्र÷छात्रा तेक्वान्दो, कराते र उशु तथा टिम इभेन्ट तर्फ एथलेटिक्स, कबड्डी र भलिबल भएका थिए ।

विजेता टिम तथा खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव हेमराज सुवेदी, प्रदेश खेलकुदका उपाध्यक्ष ध्वज कुमार गुरुङ, परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र ऋषिराम गौतम लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रदेशस्तरीय रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु यही बैशाख १५ गतेबाट काठमाडौँमा सुरु हुने तेह्रौं संस्करणको केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउने छन् ।प्रदेशस्तरीय प्रतियोगितबाट छनोट हुन सफल खेलाडीहरुलाई एक दिने बन्द प्रशिक्षणमा राखिने परिषद्ले जनाएको छ ।

स्थानीय, प्रदेश र संघस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले उत्कृष्ट अनुशासित र सक्षम देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने लक्ष्य रनिङ शिल्डको छ ।

Comments
Loading...