पोखरामा आजदेखी नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’

हिमाली आवाज । पोखरामा आजदेखी सञ्चालन हुने नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले दुई दिनको सो बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो ।

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र ताल किनारको क्याम्पिङ चोकमा फेस्टिभल हुँदैछ ।

यस प्रकारको फेस्टिभल चीन बाहिर दक्षिण एशियामै पहिलोपटक हुन लागेको र कार्यक्रमबाट पर्यटकीय शहर पोखरामा र समग्र देशमा चीनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास आयोजकको छ ।

‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिनेगरी बनाइएको डुङगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुंगा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन् । निर्धारित दूरी सबैभन्दा अघि पार गर्ने टोली विजेता बन्छ ।

बोट रेस र फेस्टिभलमा सहभागिताका लागि चिनियाँ टोली पोखरा आइसकेको छ । चिनियाँ टोली बुधबार चार्टर उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । बोट रेसमा चिनियाँ चार र नेपाली चार गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार र शनिबार फेवातालमा दुइसय र पाँचसय मिटरमा दुई विधामा आठवटा बोट रेस प्रतियोगिता हुने पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा विजेता हुन सफल दुवै विधाका टोलीलाई जनही रु रु पाँच लाख ५० हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुने टोलीका लागि रु ३० लाख पुरस्कारको व्यवस्था रहेको छ ।

नेपालबाट नेपाल ¥याफटिङ एण्ड क्यानोइङ एशोसियसन (एनआरसीए), चाइना नेपाल फ्रेण्डसिप, फेवा ढुङ्गा व्यवसायी सङ्गठन, र पोखरा महानगरपालिकाको टिम रहेको छ ।

पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखरा सो फेस्टिभलको सहयोगी संस्थाका रुपमा रहेका छन् । बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दुतावास र पोखरा महानगरबीच सझदारी हस्ताक्षर भएको थियो ।
नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो,“बोट रेसको आवश्यक सम्पूर्ण तयारी सकिएको छ । दक्षिण एशियामा पहिलो पटक आयोजना गरिएको यस कार्यक्रमले नेपालको विश्वभर प्रवद्र्धन हुनेछ । यसबाट भविश्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्दछ ।”

रेसका लागि चीनको केरुङ नाका हुँदै आठ वटा विशेष खालका डुङ्गा, अन्य आवश्यक सामग्री र वोट रेस प्रशिक्षकहरु जेठ अन्तिम साता पोखरा आएर अभ्यास गरेका थिए ।

प्रतियोगिताको तयारीका लागि आज विहान चिनियाँ र नेपाली टोलीले फेवातालमा अभ्यास प्रशिक्षण गरेका छन् । दुइसय र पाँचसय मिटरमा दुई विधामा प्रतिस्पर्धा हुने नेपाल ¥याफ्टिङ तथा कायाकिङका राष्ट्रिय प्रशिक्षक निमबहादुर मगरले बताउनुभयो ।

Comments
Loading...