पोखराको लेकसाइडमा खुल्यो ‘मिरक्याट पार्क’, एउटै थलोमा खाना, खेल, संगीत र सिर्जनशीलता

हिमाली आवाज । पर्यटकीय राजधानी पोखराको लेकसाइडमा खाना, कफी, खेलकुद, संगीत, गेमिङ र सिर्जनशील गतिविधिलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित ‘मिरक्याट पार्क’ सञ्चालनमा आएको छ ।

पोखरा महानगरपालिका–६ लेकसाइडको स्ट्रिट नम्बर १७ मा करिब चार करोड रुपैयाँको लगानीमा निर्माण गरिएको पार्कलाई स्थानीय समुदाय, पर्यटक, उद्यमी र सिर्जनशील व्यक्तिहरूको भेटघाट तथा अनुभव आदानप्रदान गर्ने साझा थलोका रूपमा विकास गर्न खोजिएको हो ।

मिरक्याट इन नेपालका सञ्चालक सागर भट्टराईका अनुसार पार्कमा छवटा भवनमा विभिन्न व्यवसाय तथा गतिविधिका लागि छुट्टाछुट्टै स्थान तयार गरिएको छ । यहाँ खानपान, कफी, वेलनेस, खेलकुद, संगीत र गेमिङका सुविधासँगै योग, कार्यशाला, पोडकास्ट र सामुदायिक कार्यक्रम सञ्चालन गर्न करिब ५० जनाको क्षमताको बहुउद्देश्यीय हलसमेत रहेको छ ।
मिरक्याटको अवधारणा मानिसहरूलाई भेट्ने, नयाँ ठाउँ र अनुभव साटासाट गर्ने अवसर प्रदान गर्नु हो । यसअघि डिजिटल एपका रूपमा अघि बढाइएको मिरक्याट इन नेपाललाई भौतिक संरचनासहित विस्तार गर्दै पार्क सञ्चालनमा ल्याइएको भट्टराईले बताउनुभयो ।

मिरक्याट पार्कमा विभिन्न व्यवसाय तथा उद्यमीले आफ्ना उत्पादन, सेवा र अनुभव प्रस्तुत गर्ने अवसर पाएका छन् । पोखरा रोस्ट्री कफीले कफी तथा स्थानीय संस्कृतिको अनुभवसँगै कफीसम्बन्धी कक्षा सञ्चालन गर्नेछ । लावण्य वेलनेसले वेलनेस सेवा उपलब्ध गराउनेछ भने पोराले रोटिसेरी चिकेन र स्म्यास्ड बर्गरको स्वाद पस्कनेछ ।
त्यस्तै, उमामी मार्टमा कोरियन स्न्याक्स तथा विभिन्न उत्पादन उपलब्ध हुनेछन् । प्रकृति, वन्यजन्तु र अनुसन्धानमा रुचि राख्नेहरूका लागि नेसनल जियोग्राफिक एक्सप्लोरर रोहित गिरीको भेटघाट केन्द्रले छलफल र अनुभव आदानप्रदानको अवसर प्रदान गर्ने सञ्चालक भट्टराईले जानकारी बताउनुभयो ।

संगीत र सिर्जनशील गतिविधिका लागि ‘बैदाम जाम’, खेलकुद तथा सामाजिक अन्तरक्रियाका लागि ‘डिंकहाउस पिकलबल’ र मनोरञ्जनका लागि ‘मिनी आर्केड हब’ सञ्चालनमा छन् । यी गतिविधिले फरक रुचि भएका मानिसलाई एउटै परिसरमा भेटघाट, मनोरञ्जन र नयाँ अनुभव लिने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
पार्कमा योग, कार्यशाला, पोडकास्ट र विभिन्न सामुदायिक जमघट तथा कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था पनि छ । यसले व्यवसाय सञ्चालनका अतिरिक्त सिर्जनशीलता, सामाजिक सम्बन्ध र सामुदायिक गतिविधिलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।

भौतिक पार्कसँगै सञ्चालन भइरहेको मिरक्याट डिजिटल प्लेटफर्मले नेपाल आउने विदेशी पर्यटक, ब्याकप्याकर, डिजिटल नोमाड, स्थानीय बासिन्दा, गाइड, होस्ट, उद्यमी, सिर्जनाकर्मी तथा पर्यटन व्यवसायलाई एउटै सञ्जालमा जोड्ने लक्ष्य लिएको छ ।

डिजिटल प्लेटफर्ममा ट्रेकिङ तथा साहसिक गतिविधि, कार्यक्रमको जानकारी, स्वयंसेवाका अवसर, गाइड तथा होस्टसँग सम्पर्क, सामुदायिक सूचना र स्थानीय सिफारिसलगायतका सुविधा समेटिएका छन् । यसमार्फत पर्यटकले स्थानीय गतिविधि र सेवाबारे जानकारी लिन तथा स्थानीय व्यवसायले आफ्ना सेवा र उत्पादनलाई सम्भावित ग्राहकसम्म पु¥याउन सक्ने अपेक्षा गरिएको छ ।

मिरक्याट पार्कलाई परम्परागत व्यावसायिक कम्प्लेक्समा सीमित नराखी विभिन्न रुचि, पृष्ठभूमि र संस्कृतिका मानिसबीच सम्बन्ध स्थापित गर्ने साझा थलोका रूपमा विकास गर्न खोजिएको भट्टराईले बताउनुभयो ।

Comments
Loading...