पोखराका बाख्रापालक कृषकलाई महानगरले दियो ४४ लाख अनुदान

हिमाली आवाज । पोखरा महानगरपालिकाले मेयरमैत्री बाख्रा पकेट कार्यक्रम अन्तरगत महानगरका १९१ जना कृषकहरुलाई रु ४४ लाख २० हजार अनुदान रकम प्रदान गरेको हो ।

पोखरा महानगरले व्यावसायिक बाख्रापालक कृषकलाई अनुदान दिएको हो । महानगरले वडा नं.१९ का २४ जना कृषकहरूलाई रु छ लाख २० हजार, वडा नं.२० का ३२ जना कृषकहरूलाई रु सात लाख २० हजार र वडा नं.२१ का ४३ जनालाई रु.१० लाख रकम प्रदान गरिएको छ ।

यसैगरी वडा नं.२४ का ३७ जनालाई रु आठ लाख २० हजार, वडा नं.२५ का २३ जनालाई रु चार लाख ८० हजार र वडा नं.२८ का ३२ जनालाई रु सात लाख ६० हजार नगद अनुदान प्रदान गरिएको महानगर पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले बताउनुभयो । अनुदान प्राप्त गर्न योग्य सबै कृषकहरुलाई महानगर प्रमुख धनराज आचार्यले सोमबार रकम प्रदान गर्नुभएको हो ।

वडा स्तरमा गठन गरिएका कृषि सञ्जाल र अनुदान प्राप्त गर्ने कृषकहरूले महानगरको सहयोगप्रति खुसी व्यक्त गरेका छन् । कृषकहरूका समस्याहरू समाधानका साथै आफूहरूको हौसला वृद्धिका लागि यस प्रकारका कार्यक्रमहरूको निरन्तरतामा उनीहरूले जोड समेत दिएका छन् ।

सो अवसरमा महानगर प्रमुख आचार्यले अनुदानले कृषकहरूलाई हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो,“महानगरपालिका कृषकहरूको सहायताका लागि सदैव सकारात्मक छ । महानगरको समृद्धिसँग कृषकहरूको समृद्धि पनि जोडिनु पर्दछ,आत्मसम्मानका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्ने वातावरणको सृजना गर्न महानगरपालिका प्रतिबद्ध छ ।”

कृषिजन्य उत्पादनहरूमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरता तर्फ उन्मुख बनाउन कृषकहरूको योगदान उल्लेखनीय हुने भएकाले आफ्नो उत्पादनको स्वच्छतामा समेत ध्यान दिन उहाँले आम कृषकहरूलाई अनुरोध समेत गर्नुभयो ।

कृषकहरूलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता र बजारीकरणका लागि आफूहरू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
“तपाँईहरु उत्पादनमा केन्द्रित हुनुहोस्, उहाँले भन्नुभयो, त्यो उत्पादनको बजार सुनिश्चितता हामी गछौँ ।” उत्पादनका क्रममा हुने लगानीको सुनिश्चितता गरिने भएकाले कृषकहरूलाई निराश हुने वातावरण सृजना नगरिने उहाँले विश्वास दिलाउनुभयो ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा बाख्रा पालन कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक भइहरेको बताउनुभयो ।

बाख्रा पालन प्रति कृषकहरूले देखाएको चासो र उनीहरूले प्राप्त गरेको लाभले आफूहरूलाई यस क्षेत्रमा थप कामका लागि हौसला मिलिरहेको उहाँले बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका पशु विकास अधिकृत सहदेव पौडेलले विभिन्न प्रकोपका कारण समस्यामा रहेका कृषकहरूलाई यस प्रकारको अनुदानले राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

Comments
Loading...