एशियाली खेलकुद:उत्साहित छन् आर्चरी खेलाडी

—कृष्ण दवाडी
हिमाली आवाज । विभागीय टोली नेपाल प्रहरीमा आवद्ध पोखराका तिलक पुन मगर हरेक दिन सबेरै पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा पुग्नुहुन्छ । हातमा ‘एरो’ बाण र ‘बो’ धनुष बोकेर ‘टार्गेट’मा केन्द्रित हुनुहुन्छ । आर्चरी मैदानमा उहाँ लगायत चार जना खेलाडी साउन पहिलोसातादेखी बन्द प्रशिक्षणमा हुनुहुन्छ ।

आगामी असोज ६ देखी मित्रराष्ट्र चीनको हाङझावमा १९ औँ संस्करणको एशियाली खेलकुद(एसियाड) नजिकिदै जाँदा मगरमा उत्साहसँगसँगै मनमा डर पनि छ । इन्डोनेसियामा चार वर्ष अघि १८ औँ संस्करणमा उहाँले एशियाली खेलकुदमा पहिलो पटक सहभागी बन्नुभएको थियो ।
पहिलो सहभागितामा प्रदर्शन राम्रै भएकाले मगरले यसपटक थप मिहिनेत गर्दै रेकर्ड सुधार्ने लक्ष्यमा हुनुहुन्छ । अभ्यास गर्दा राष्ट्रिय रेकर्ड ६५ मिटर आसपास हानेकाले यसपटक पहिलाको रेडर्क ब्रेक गर्नेमा उहाँ आशावादी हुनुहुन्छ ।

“इन्डोनेसियामा पहिलो सहभागिता भएकाले खेल्दा कन्फिडेन्स थिएन, तर राम्रो स्कोर हानेको थिए । तर अहिले पहिलाको भन्दा पनि राम्रो तयारी गरेको छु । विग्रन्छ कि भन्ने मनमा डर भएपनि नियमित अभ्यास र अनुभवले राम्रो गर्छु भन्ने लागेको छ ।”पुनले भन्नुभयो । यसपटक बन्द प्रशिक्षण बाहेक पनि वर्षभरीनै अभ्यास गरेकाले आफ्नो प्रदर्शन राम्रो हुनेमा उहाँ आशावादी देखिनुहुन्छ ।

नेपालले एशियाली खेलकुदमा आर्चरीमा १६ औँ संस्करणदेखी सहभागिता जनाउँदै आएको छ । यसअघि तीन पटकको सहभागितामा केवल भाग लिनुमा मात्रै सिमित भएको छ ।नेपालले पदक जित्न सकेको छैन, तर खेलाडीमा पदकको आस भने कायमै छ । पहिलो सहभागितामा नेपालले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसयता समूहचरणबाट माथि बढ्न सकेको छैन ।

एशियाडमा आर्चरीको ‘रिकर्भ’ र ‘कम्पाउण्ड’ विधामा नेपालले प्रतिस्पर्धा गर्नेछ । रिकर्भमा तिलक सहित मञ्जु बजगाई र कम्पाउण्डमा योगेन्द्र शेरचन र इमायिङ्ग राई हुनुुहुन्छ ।कम्पाउण्ड विधामा प्रतिस्पर्धाको तयारी गरिरहनुभएका योगेन्द्र शेरचन यसपटक सेमिफाइनलसम्म पुग्ने आफूहरुको लक्ष्य रहेको बताउनुहुन्छ । बन्द प्रशिक्षण राम्रो भएपनि पर्याप्त खेल सामग्री प्राप्त नहुँदा भने उहाँ चिन्तित हुनुहुन्छ । शेरचनले आफ्नै लगानीमा खेल सामग्री जुटाएर अभ्यास गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“राखेपले पर्याप्त उपकरण दिएको छैन । एरोको सबै सेट मागेको थियौँ तर एरो मात्र दिएको छ । आफैले दुई लाख ५० हजार खर्च गरेर बो किनेर अहिले अभ्यास गरिरहेको छु । साउन १ देखी बन्द प्रशिक्षण सुरुभएसँगै उपकरण दिएको भए हामीहरुको प्रदर्शन निखारिएर आउने थियो ।”

एसियाडमा शेरचनको यो पहिलो सहभागिता हो । प्रतियोगितालाई लिएर उहाँ उत्साहित हुनुहुन्छ । आर्चरीको ओलम्पिकमै सहभागिता जनाउन लागेको जस्तो लागेको उहाँ बताउनुहुन्छ ।

“ओलम्पिकमा एशियाली देशहरुनै सेमिफाइनल पुग्ने गरेकाले एशियन खेलकुद पनि ओलम्पिक जस्तै लागेको छ ।” खेलाडी शेरचनले भन्नुभयो । आर्चरीको प्रदर्शन राम्रो गर्नका लागि विदेशी प्रशिक्षकको खाँचो भएको खेलाडीको भनाई छ ।

पोखरा रङ्गशालामा सञ्चालन भइरहेको बन्द प्रशिक्षणमा वसन्त थकालीले टोलीलाई प्रशिक्षण दिनुभएको छ । उहाँलाई नेपाल आर्चरी संघका केन्द्री अध्यक्ष दीपक गुरुङले समेत साथ दिनुभएको छ ।

प्रशिक्षक थकालीले बन्द प्रशिक्षणमा खेलाडीको स्तर छनोट चरणमा भन्दा राम्रो भएको बताउनुभयो । खेलाडीको फिजिकल फिटनेससँगै प्रयोगात्मक र सैद्धान्तिक पक्षलाई जोड दिएर बन्द प्रशिक्षण सञ्चालन भइरहेको उहाँको भनाई छ ।नेपाली टोलीले काठमाडौँमा एक महिना अभ्यास गरेपछि साउन १ देखी पोखरामा बन्द प्रशिक्षण सञ्चालन गरिरहेको छ ।

“वर्खामा मौसमले चूनौती दिएपनि भिजेर भएपनि अभ्यास गरिरहेका छौँ । रुटिन भन्दा पनि बढी अभ्यास गरिहरेका छौँ । खेलाडीको छनोटमा भन्दा बढी स्कोर आएको छ, प्रगति भएको छ । सकेसम्म केही न केही पदक ल्याउँछौँ भन्ने लागेको छ । ” प्रशिक्षक थकालीले भन्नुभयो ।

एसियाडका लागि आर्चरीको छनोटमा सुरुआतमा नवौँमा सहभागी २० खेलाडी मध्येबाट १६ जना छनोट गरिएको थियो ।त्यसपछि तीन पटक छनोट गरी चार जनामा झारिएको बताइन्छ ।

एशियाली खेलकुद(एसियाड) को १९ औँ संस्करण हरेक चार वर्षमा हुने यस प्रतियोगितामा एसिया महादेशका राष्ट्रहरुले प्रतिस्पर्धा गर्दछन् । नेपालले पनि प्रतियोगिताका विभिन्न २९ खेलहरुमा सहभागिता जनाउँदैछ ।

पोखरा रंगशालामा आर्चरी सहित महिला ह्याण्डबल टोलीको पनि बन्द प्रशिक्षण सञ्चालन भइरहेको छ । यही भदौ अन्तिमसम्म दुबै खेलका खेलाडीले प्रशिक्षण गर्नेछन् । प्रशिक्षणमा रहेका खेलाडीहरुलाई खेल संघ सहित नीजि क्षेत्र तथा व्यक्तिहरुले समेत सक्दो सहयोग गरिरहेका छन् ।

Comments
Loading...