हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १ टुँडिखेलमा हुँदै आएको ऐतिहासिक तीज मेला यस वर्ष नहुने भएको छ ।
इन्द्रेणी एकिकृत विकास केन्द्रले एतिहासिक पृष्ठभूमि बोकेको टुँडीखेल मैदानमा परापूर्वकाल देखिनै तीजका बेलामा हुँदै आएको मेलालाई यस वर्ष पनि मैदानमा दुबो रोपिएको र अर्को स्थान फेला नपरेपछि महोत्सव गर्न नसकिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले मेलाको तयारी गरेपनि आयोजना गर्न असमर्थ भएको बताउनुभयो । उहाँले भन्नुभयो,“ टुँडिखेल मैदानमा दुवो रोप्ने कार्य भएकोले मेलाको लागि आवश्यक तयारी भए पनि उपयुक्त स्थान प्राप्त हुन नसकेको कारणले गर्दा यस वर्ष तीजसँग सम्बन्धित कुनै पनि कार्यक्रम नगर्ने निर्णइ गरेका छौँ । यही भदौ १८ गतेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । आगामी दिनमा भने मेलालाई निरन्तरता दिने छौ ।”
अझ यस मेलालाई केही वर्षदेखि अझ परिस्कृति र व्यवस्थित गर्दै टुँडिखेलको पौराणीक पहिचानलाई कायम राखी फेरी पुरानै मौलिक परम्पराको रुपमा विकास गरी अगाडि बढाउने सोचका साथ मेला आयोजना गरिदै आइएको थियो ।