हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत पोखराका माओवादीका नेता तथा कार्यकर्ताहरु आज फेवाताल सरसफाईमा जुटेका छन् ।
देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखराको गहना फेवातालको सरसफाईलाई माओवादीले अभियानसँग जोड्दै सफाई कार्यक्रम सञ्चालन गरेको हो ।
माओवादीका नेता कार्यकर्ताहरुले बाराहीघाटदेखी ताल किनारमा थुप्रिएको फोहरमैला संकलन गरेका थिए । अभियानका क्रममा देशका अन्य क्षेत्रमा समेत माओवादीले यस प्रकारको विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरु गर्दै आएका छन् । माओवादीले गत भदौ १६ गतेदेखी देशभर एकसाथ जनतासँग माओवादी रुपान्तरण अभियान सञ्चालन गरेको छ । अभियान मंसिर १६ गते सकिदैछ ।

माओवादी केन्द्र पोखरा महानगर कमिटीका इन्चार्ज पारशमणि पौडेलले माओवादीको पहलमा निर्माण भएको फेवातालको फुटट्रायको सरसफाईलाई अभियानसँग जोडेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“ नेकपा माओवादीको पलहमा वाइसियल, कलाकार र यहाँको स्थानीय पार्टी पंक्तिको अगुवाईमा फेवा किनारमा फुटट्रायक निर्माण गरिएको हो । यसको संरक्षण र सौन्दर्यकरणका लागि अहिले अभियानको क्रममा आएका छौँ । हाम्रो निरन्तर रुपान्तरणको प्रक्रियाको सफाई प्रक्रिया अन्तर्गत यो रहेको छ ।”
माओवादी पोखरा महानगर कमिटीका अध्यक्ष हरिनारायण गिरी(विज्ञान)ले पोखरामा तीन महिने अभियानका लागि कार्य योजना बनाएर जनतामाझ जाने काम भइरहेको बताउनुभयो। उहाँले विभिन्न वडामा जनतासँग जोडिएर श्रम र रचनात्मक कामहरु भइरहेको बताउनुभयो ।
महानगरका ३३ वटै वडाका प्रत्येक घरहरुमा पुग्ने गरी कार्ययोजना बनाइएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।सचिव जनक पराजुलीले अभियानले समग्र पार्टी पंक्ति सहित आम जनतामा समेत उत्साह छाएको बताउनुभयो ।