हिमाली आवाज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरु परिर्वतन भएर लाग्नुपर्ने बताउनुभएको छ ।
‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापति जि) लाई परिर्वतन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको शुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिर्वतन हुनुप¥यो’ शुक्रवार नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको नगरसम्मेलनमा उहाँले भन्नुभयो ।
नगर सभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा भएको सम्मेलनमा बोल्ने नेता कार्यकर्ताहरुले गत (२०७९बैशाख) को स्थानीय निर्वाचन, टिकट बितरण लगायतको कुरा गरेपछि मुख्यमन्त्री पाण्डेले भन्नुभयो ‘अर्को चुनाव आउने बेला भईसक्यो, ३ वर्षपछि अर्को चुनाव हुन्छ, हामी हिजोको टिकट किन छुट्यो भने रोईकराई गरिरहेका छौँ, यो कहिले सम्म गरिरहने ?’ यही रोदनमा हुने हो भने अर्को पटक पनि चुनावको टिकट छुट्न सक्ने बताउँदै उहाँले आगामी निर्वाचनमा कसरी टिकट लिने र जित्ने भन्ने तर्फ लाग्न सुझाब दिनुभयो । ‘हिजो भएको हाम्रा कमिकमजोरीलाई ‘करेक्सन’ गरेर अघि बढ्ने हो’ उहाँले भन्नुभयो ।

प्रदेश सरकारले प्राथमिकताका आधारमा बजेट बिनियोजन गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले यस वर्षको वार्षिक बिकास कार्यक्रममा ३० लाख भन्दा कमका सडक योजना, १० लाख भन्दा कमका सिंचाई, खानेपानीका योजनामा बजेट बिनियोजन नगरिएको बताउनुभयो ।
‘देखिनेगरी बिकास गर्न, सुरु भएका योजना समयमै सम्पन्न गर्न प्राथमिकता र आवश्यकताका आधारमा बजेट बिनियोजन गरिएको छ’ उहाँले भन्नुभयो,‘भवन निर्माण जस्ता अनुत्पादक क्षेत्रमा नयाँ योजना छुट्याएका छैनौँ, हाम्रो प्राथमिकतामा यो छैन ।’
भोटका लागि स–साना टुक्रे योजना, सामुयिक भन्दापनि व्यक्तिगत योजना धेरै आउने गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले मुख्य, मुख्य योजना छिटो गर्ने नीति प्रदेश सरकारको रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सतार, गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ, गोरखा १ का सांसद राजेन्द्र बजगाई, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, महासमिति सदस्य राजनराज पन्त लगायतले प्रशिक्षणमुलक धारणा राख्नुभयो ।