दशैँमा यात्रुले गाडी नपाउने होइन,गाडीले यात्रु पाएका छैनन्:अध्यक्ष केसी

हिमाली आवाज । पोखरामा प्रधान कार्यालय रहेर देशका सात वटै प्रदेशमा यातायात सेवा प्रदान गर्दै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले दशैँमा यात्रुहरुलाई गन्तव्यमा पुग्नका लागि सवारी साधनको कुनै पनि अभाव नभएको जनाएको छ । दिवा तथा रात्री सेवामा सबै स्थानमा पुग्नका लागि कम्पनीले पर्याप्त सवारी साधनको व्यवस्था गरिएको उल्लेख गरेको छ ।

विगतका वर्षहरुमा सार्वजनिक यातायातमा यात्रुहरुको चाप बढी हुँदा थप बसहरु सञ्चालन गर्नुपरेपनि यस वर्ष दशैँका लागि पोखराबाट बाहिर जानेहरुको संख्या अत्यन्त कम रहेको चाडपर्वमा गाडीको अभाव नहुने बताइन्छ ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले दशैँ लगायतका चाडपर्वमा यात्रुहरुलाई गन्तव्यमा पु¥याउनका लागि पर्याप्त मात्रामा समितिमा बसहरु रहेको बताउनुभयो ।

यस वर्ष पाँच हजार जनाले मात्र दशैँमा अग्रिम टिकट बुकिङ गरेको उहाँले बताउनुभयो । अघिल्ला वर्षहरुमा ३० हजार हाराहारीमा दशैँमा टिकट बुकिङ हुने गरेको थियो ।

अध्यक्ष केसीले भन्नुभयो,“विगतमा दशैँमा एक्स्ट्रा गाडी पनि जाने गरेको थियो तर यस वर्ष अहिलेसम्म त्यस्तो छैन । अग्रिम बुकिङ पनि पाँच हजार हाराहारीमा मात्र छ । अहिले यात्रुले गाडी नपाउने होइन, गाडीले यात्रु नपाएको अवस्था छ ।”

अर्थतन्त्रमा देखिएको मन्दीका कारण पनि दशैँमा पोखरा बाहिर जानेको संख्यामा कमी आएको बताइन्छ । सरकारले हालै इन्धनमा गरेको मुुल्य समायोजनप्रति यातायात व्यवसायीले असन्तुष्टि जनाएका छन् । पेट्रोलको तुलनामा डिजेलको मुल्य बढी घटाएको भए यसबाट महंगीको मारमा परेका सार्वजनिक यातायातका यात्रु लाभान्वित हुने अध्यक्ष केसीले बताउनुभयो ।

“पेट्रोलमा चल्ने हुने खानेहरु हुन्छन् ।डिजेल इन्धनमा चल्नेहरु हुँदा खानेहरु हो । डिजेलको मुल्य अझै कम गरेको भए थोरै भएपनि निम्नबर्गका नागरिकलाई फाइदा हुन्थ्यो।” केसीले भन्नुभयो ।

देशभर मध्यम तथा लामो दूरीमा यातायात सेवा दिँदै आएको कम्पनीले पोखरा फिर्केस्थित प्रधान कार्यालयबाट र कार्यालय अन्तरगतका काउण्टरहरुबाट गन्तव्यमा पुग्ने यात्रुहरुका असोज २१ देखी अग्रिम टिकट काट्ने व्यवस्था गरेको थियो ।

कम्पनीले डिजिटल सेवालाई आत्मसात गर्दै बसमा क्युआर कोड समेत सुरु गरेको छ । त्यसैगरी घरमै बसेर पनि कम्पनीका बसहरुको टिकट काट्ने व्यवस्था मिलाइएको छ ।

टिकट काट्ने र काउन्टरमा पुगि लाइन बसेर नगद बुझाउने झन्झटलाई अन्त्य गर्न मोबाइलबाटै घरमा बसेर पनि अनलाइनबाट टिकट काट्न सकिने कम्पनीले जनाएको छ ।

अध्यक्ष केसीका अनुसार कम्पनी मातहतमा एक हजार २९० यात्रु बाहक बस सञ्चालनमा छन् । कम्पनीले दिवा तथा रात्री सेवामा सुविधासम्पन्न ‘डिलक्स बस’बाट देशका सातै प्रदेशका विभिन्न सहरहरुमा सेवा दिँदै आएको छ ।

सडकको अवस्था र मूल्य वृद्धिको अनुपातमा भाडा समायोजन गरिदिन विभिन्न निकायहरुमा अनुनय विनय गरेपनि सरकार उदासिन बनेको आरोप यातायात व्यवसायीको छ ।

यातायात व्यवसायीहरुले पृथ्वीराजमार्ग अन्तर्गत पोखरा— मुग्लिन खण्डको मुख्य सडक र नारायणगढ —बुटवल खण्डको मुख्य सडक विगत लामो समयदेखि स्तरोन्नतिका क्रममा जीर्ण रहेकाले सो सडकखण्डमा कच्ची सडक सरह भाडा समायोजनका लागि सरकारसँग माग गरेका छन् ।

Comments
Loading...