पोखरामा रगत अभाव,आकस्मिक रक्तदान कार्यक्रम

हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा बिरामीका लागि अत्यावश्यक रगत अभाव भएको छ ।

प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दशैँका समयमा नियमित तालिका अनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ ।
रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालहरुमा उपचाररत विरामीलाई आपूर्तिमा कठिनाई हुन नदिनका लागि सोमबार आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

पोखरा—५ जिरो किमीमा गरिएको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत सङ्कलन भएको केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“दशैँका समयमा विभिन्न सङ्घ संस्थाले गर्ने रक्तदानका कार्यक्रम नियमित हुन सकेनन् । अहिले रगतको अभाव भएपछि सबैलाई सहयोग गर्न आग्रह गरेका छौँ । आकस्मिक कार्यक्रम गरेर अभाव टार्ने प्रयास गरेका हौँ । ”

रक्तसञ्चार केन्द्रले अहिले रगत छैन भनेपछि सवैबाट सहयोग प्राप्त भएको जनाएको छ । सहज आपूर्तिका लागि दैनिक कार्यक्रम हुनुपर्ने प्रमुख ज्ञवालीले बताउनुभयो ।

प्रदेशको राजधानी समेत रहेकाले पोखरामा दैनिक ७० देखी ७५ युनिट रगत आवश्यक पर्ने रक्तसञ्चार केन्द्रले जनाएको छ ।प्रदेशका अन्य जिल्लाबाट समेत यहाँका अस्पतालहरुमा विरामीहरु उपचारका लागि सिफारिस भएर आउने भएकाले पोखरामा रगतको माग उच्च हुने गर्दछ ।

आकस्मिक रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन बहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वतःस्फुर्त सहभागिता प्रति आभार व्यक्त गर्नुभयो ।

”मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति कास्की प्रहरी सदैव जनताको साथमा छ । प्रहरी जनताकै सेवाको लागि रहेको हुँदा जनताको सुरक्षाको साथै जनसेवाका कार्यमा प्रहरी सँधै साथमा रहन्छ ।” उहाँले भन्नुभयो ।

रक्तदान कार्यक्रम आयोजना गरेको अभिभावक गृह कास्कीका अध्यक्ष देबेन्द्र सुबेदीले आकस्मिक रुपमा गरिएको कार्यक्रममा उल्लेख्य सहभागिता प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“रगत अभाव भएको थाहा पाएपछि तत्कालै कार्यक्रमको आयोजना गरिएको हो । ”

Comments
Loading...