हिमाली आवाज । म्याग्दीको ‘करबाकेली इको’ पदमार्गमा काव्ययात्रा गरिएको छ। करबाकेली बाबा संरक्षण समितिको आयोजनामा देशका विभिन्न ठाउँका १८ कबि, लेखक, पत्रकार र पर्यटनकर्मीले बेनी बजारबाट करबाकेली इको पदमार्गको यात्रा गरे ।
बेनीबाट करबाकेली हुँदै पुनहिल पुगेर चार दिनमा काव्ययात्रा सम्पन्न भएको र यसबाट समग्र म्याग्दी जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको करबाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“साहित्यको माध्यमबाट यो ठाउँको प्रचार–प्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काव्ययात्रा आयोजना गरेका हौँ । यहाँको प्रकृति, संस्कृति र जीवनशैलीलाई साहित्यमार्फत उजागर गर्न यात्रा सफल भयो ।”
काव्ययात्रामा प्रगति राई, प्रभा बराल, कुमारी लामा, अभय श्रेष्ठ, हेमन्त विवश, सागर उदास, रञ्जन राजभण्डारी, घनश्याम पौडेल, तारानाथ पहाडी, दिनेशनारायण श्रेष्ठ, राजकुमार गजुरेल, भवानी शिलाकार र सुरेन्द्र राना सहभागी हुनुहुन्थ्यो । सो टोली बेनीबाट मल्लाज बाँसखर्क महभिर हुँदै टोली करबाकेली पुगेको हो । यात्राका क्रममा स्थलगतरूपमा रचना तयार पार्ने र सोही स्थानमा प्रस्तुत गरिएको थियो ।

टोलीलाई बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल र प्रथम उपाध्यक्ष राजेश शाक्यले बिदाइ गर्नुभएको थियो । अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीलाई केन्द्रित गरेर विसं २०७५ मा करबाकेली इको पदमार्ग सञ्चालन भएको थियो ।
कास्कीको वीरेढाँटी, तिखेढुङ्गा, उल्लेरी, घोडेपानी र करबाकेलीथान हुँदै बेनीलाई समेटेको यो पदमार्गमा चार दिनको यात्रा गर्न सकिन्छ । कला संस्कृति हेर्न र संसारकै ठूलो गुराँसे जङ्गलको यात्रा गर्न यो पदमार्ग उत्तम छ ।
करबाकेली पदमार्गको अधिकांश क्षेत्र अन्नपूर्ण पदमार्ग र बाँकी क्षेत्र अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गले समेट्ने भए पनि पुनहिलबाट परम्परागत मार्ग छाडेर करबाकेली थान हुँदै बेनी पुग्न सकिने गोठालो मार्गलाई विकसित गरिएको छ ।
पदमार्गमा घर, गोठमा प्रयोग हुने घरायसी सामग्री, वेशभूषा, संस्कार र संस्कृति झल्कने सामग्री सङ्कलन गरी काफलडाँडामा करबाकेली सङ्ग्रहालय स्थापना गरिएको छ ।