प्रविधिमैत्री बन्दै पृथ्वीबस,यात्रुले अब अनलाइनबाटै टिकट काट्न सक्ने

हिमाली आवाज । पोखरामा प्रधान कार्यालय रहेर पाँच दशक अघिदेखी देशका सात वटै प्रदेशमा सार्वजनिक यातायात सञ्चालन गर्दै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले यात्रुहरुको सहजताका लागि अनलाइनबाट टिकट काट्न सकिने गरी सेवा सुरु गरेको छ ।

कम्पनीले बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई डिजिटलाइज गरी घरमै बसेर सबै गन्तव्यहरुमा बसको टिकट काट्न सकिने गरी सेवा सुरु गरेको कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताउनुभयो ।उहाँका अनुसार यात्रुहरुले कम्पनीको ‘पृथ्वी बस डटकम डट एनपी’, कम्पनीको मोवाइल एप्लिकेशन र बससेवाको मोवाइल एप्लिकेशनमार्फत सहजै टिकट काट्न सक्नेछन् ।

“अबदेखी यात्रुहरुले कम्पनीका एसी, डिलक्स, हायस लगायतका सबै किसिमका सवारी साधनबाट देशका कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिने व्यवस्था गरेका छौँ ।” केसीले भन्नुभयो ।सार्वजनिक यातायातलाई सुधार गरी प्रविधिमैत्री बनाउने र प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरीय सेवा दिनका लागि अनलाइन टिकटको सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।

अध्यक्ष केसीले भन्नुभयो,“अहिले नेपालका धेरै क्षेत्रमा प्रविधिको प्रयोग बढेको छ । यसबाट सहजता पनि छ । हामी पनि समय र आम यात्रुको माग अनुसार प्रविधिको प्रयोग गरेर सेवा दिनुपर्दछ भन्ने उद्धेश्यले प्रविधिको आत्मसाथ गरेका छौँ । यसबाट हाम्रो सेवालाई थप प्रभावकारी र विश्वसनीय बनाउने विश्वास छ ।”

बससेवा डटकमका प्रमुख कार्यकारी पिआर खनालले देशकै अग्रणी यातायात सेवा प्रदायक कम्पनीसँग आवद्ध भएर सेवा प्रदान गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले आम यात्रुले थप नयाँ अनुभावका साथ यात्रा गर्न पाउने उल्लेख गर्नुभयो ।विसं २०२९ मा स्थापना भएको कम्पनी देशकै अग्रणी यातायात सेवा प्रदायकका रुपमा रहेको छ ।

कम्पनीले देशभर मध्यम तथा लामो दूरीमा दिवा तथा रात्री सेवामा यातायात सेवा दिँदै आएको छ । प्रालि अन्तर्गत हाल एक हजार २०० बसहरु सञ्चालनमा रहेका छन् ।

Comments
Loading...