पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा ‘स्मृति स्तम्भ’

हिमाली आवाज । पोखरामा गत वर्ष भएको यति एयरलाइन्स विमान दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा ‘स्मृति स्तम्भ’ निर्माण गरिएको छ ।

विसं २०७९ माघ १ गते काठमाण्डौबाट पोखरा आउने क्रममा यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको स्मृतिमा पोखरा महानगरपालिकाको तर्फबाट स्मृति सभा सहित स्मृति स्तम्भको अनावरण गरिएको हो ।

पोखरा महानगरपालिका वडा नं ७ र १४ को सिमाना सेँतीखोच नजिक दुर्घटना स्थलमा दिवङ्गतहरूको स्मृतिमा उनीहरूको नामावली सहितको स्मृति स्तम्भ निर्माण गरी त्यसको अनावरण समेत गरिएको हो ।

स्तम्भको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संयुक्त रूपमा अनावरण गर्नुभएको हो ।

स्तम्भमा विमान दुर्घटनामा दिवङ्गत भएका चालक दलका सदस्यहरू सहित ५७ जना नेपाली र १५ जना विदेशी नागरिकहरूको नाम लेखिएको छ । उनीहरूको स्मृतिमा पोखरा महानगरपालिकाले स्मृति स्तम्भ निर्माण गरेको हो । त्यस स्थानमा स्मृति पार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको छ ।

स्मृति सभामा पोखरा महानगरपालिकाका नगरप्रमुख आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरे, महानगरपालिका वडा नं.७ का वडा अध्यक्ष राम मोहन आचार्य सहित जनप्रतिनिधिहरू र मृतकका आफन्तहरूको उपस्थिति रहेको थियो ।

Comments
Loading...