हिमाली आवाज । गण्डकी प्रदेशमा सुंगुर, बंगुर तथा बँदेलमा लाग्ने अफ्रिकन स्वाइ फिभर रोगको पुनः सङ्क्रमण देखिएको छ ।
रोग सर्भिलेन्सको निरन्तरताका क्रममा गण्डकीका कास्की, तनहुँ, लमजुङ र गोरखामा सङ्क्रमण पुष्टि भएको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ ।
सङ्क्रमण फैलिदै जाँदा ठूला तथा साना बंगुर फार्महरुमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न कृषकहरुलाई आग्रह गरिएको छ । त्यसैगरी विभिन्न सचेतनाका कार्यक्रम र पशुजन्य ओसारपसारमा निगरानी बढाइएको छ ।निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाई भट्टराईका अनुसार पछिल्लो सङ्क्रमणबाट कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोखरामा १३ गरी कूल एक सय १२ बँगुरको मृत्यु भएको छ ।
“अफ्रिकन स्वाइन फिभर अत्यन्त सङ्क्रामक तथा उच्च मृत्युदर भएको रोग हो । हालसम्म रोग विरुद्ध भ्याक्सिन उपलव्ध छैन ।” महानिर्देशक भट्टरार्ईले भन्नुभयो,“जैििवक सुरक्षा एकमात्र विकल्प हो,त्यसैले सचेतनामा फोकस भएका छौँ ।”
गण्डकी प्रदेशमा गत वर्ष साउन २९ गते पहिलो पटक सङ्क्रमण आउटब्रेक भएको थियो । यस रोगका कारण प्रदेशमा हालसम्म १६ हजार ५५४ वटा बंगुर मरेको निर्देशनालयको तथ्याङ्क छ ।
कास्की जिल्लामा मात्र १५ हजार ३८८ वटा बंगुरको मृत्यु भएको छ । निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले रोगका कारण कृषकले रु ५० करोड हाराहारीमा क्षति बेर्होनु परेको बताउनुभयो । “कृषकले हामीलाई जानकारी गराए अनुसारको क्षतिको विवरण हो । यो भन्दा बढी पनि क्षति पुगेको हुन सक्छ ।” श्रेष्ठले भन्नुभयो ।

निर्देशनालयले रोग पुष्टि भएका क्षेत्रमा स्थलगत अध्ययन, थप सर्भिलेन्सका कार्य, फार्मको निःसङ्क्रमण तथा विभिन्न माध्यमबाट रोग सम्बन्धी जनचेतनामुलक सामग्री प्रचारप्रसारको कार्य भइरहेको जनाएको छ ।कास्कीमा यस वर्ष बंगुरको संख्या कम भएकाले मृत्यू संख्या कम देखिएको निर्देशनालयले जनाएको छ ।
कास्कीमा अघिल्लो वर्ष करीब ५० हजार बंगुर थिए । अफ्रिकन स्वाईन फिभर देखिएपछि बंगुरको संख्या घटाउन आग्रह गरेपछि बंगुर पालक किसानहरुले ९० प्रतिशतसम्म बंगुरको संख्या घटाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताउनुभयो ।
जिल्लामा हाल पाँच हजारको हाराहारीमा बंगुर रहेकाले मृत्यू संख्यापनि कम देखिएको उहाँको भनाई छ ।“अघिल्लो पटक पनि कृषकलाई फार्ममा बँगुर घटाउनुहोस् भनेका थियौँ । तर कृषकले एकैचोटी बेच्न समय कुर्दा समेत क्षति बढी भयो ।” पाण्डेले भन्नुभयो,“अहिले संख्यानै कम भएकाले क्षतिको विवरण समेत कम छ । ठूला र्फाममा निरन्तर झकझकाइरहेका छौँ।”
बंगुरमा लाग्ने अफ्रिकन स्वाईन फिभर रोग रोगी सुंगुर, बंगुर, बंदेल, जंगली बँदेलसँगको सम्पर्कबाट, किर्नाको टोकाई, मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीहरुको लसपस वा ओसारपसारबाट र होटल तथा भोजभतेरबाट ल्याइएका जुठो खानाका कारण सर्ने र फैलिन सक्ने बताइन्छ ।
पशु स्वास्थ्य अधिकृत सुरेश श्रेष्ठले रोगको सङ्क्रमण हुँदा पशुमा उच्च ज्वरो आउने, शरीरमा निलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्ने, तुहिने जस्ता लक्षण्हरु देखा पर्ने बताउनुभयो ।