बालोदय र शान्ति निकुन्ज वडा अध्यक्ष कप फुटवलको उपाधिको लागि भिड्ने

हिमाली आवाज । शान्ति निकुन्ज र बालोदय बोर्डिङ स्कुल पोखरामा जारी अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० को उपाधिको लागि फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका छन्। ड्याम साइड क्लवको आयोजनामा पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको फुटवल खेल मैदानमा भोलि(आइतबार) दिउँसो २ः३० बजे फाइनल खेल हुने भएको क्लवले जनाएको छ ।

फाइनल खेल हुनु पूर्व सन्ध्यामा आइतबार दिउँसो क्लवको भेट्रान टिम र पोखरा महानगरपालिका वडा नम्बर १७ का जनप्रतिनिधि तथा कर्मचारी बिचको मैत्रिपूर्ण फुटवल खेल हुने भएको क्लवका पूर्व अध्यक्ष पदम ढकालले बताउनुभयो । आइतबार बिहान ११ः०० बजे पछि तेश्रो स्थानको लागि गत बर्षको विजेता छोरेपाटन मावि र फिस्टेल एकेडेमी बिच खेल हुने भएको छ ।

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा शान्ति निकुञ्ज स्कुलले फिस्टेल एकेडेमीलाई १—० को झिनो गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो । शान्ति निकुञ्जको जितमा आयुष गुरुङले निर्णायक एक गोल गरे । खेलमा म्यान अफ दी म्याच घोषित भएका गुरुङलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले ट्रफी हस्तान्तरण गरे ।

दोश्रो सेमिफाइनल खेलमा गत बर्षको विजेता छोरेपाटन माविलाई १–० ले पराजित गर्दै बालोदय बोर्डिङ स्कुल फाइनलमा प्रबेश गरेको हो । बालोदयको जितमा आविश्कार सुनारले एक गोलको योगदान दिए । खेलमा बालोदयका गोलरक्षक प्रमिस पौडेल म्यान अफ दी म्याच घोषित भए ।
पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रबद्र्धनमा उक्त प्रतियोगिता भएको हो । प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने भएको महासचिव राकेश श्रेष्ठले बताए । फुटवल खेलको तल्लो स्तरबाटै विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष प्रताप गुरुङले बताए । प्रतियोगितामा सामुदायिक तथा निजी गरी १९ बिद्यालयहरुको सहभागिता रहेको थियो ।

Comments
Loading...