हिमाली आवाज । पोखरा महानगरपालिका–३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई विसं २०७५ तिर कलेजोमा समस्या देखियो । उहाँले चार वर्ष औषधी खाएर रोग निको पार्ने प्रयास गरेपनि विस्तारै औषधीले काम गर्न छाड्यो ।
एकवर्षदेखी रोगले बढी च्याप्न थाल्यो र अवस्था गम्भीर भयो । लामिछानेको कलेजो क्षतिग्रष्त भएको र राम्रोसँग काम नगरेकाले चिकित्सकले अन्तिम चरणको उपचारका रुपमा कलेजो प्रत्यारोपण गर्न सुझाव दिए ।
देशभित्र सबै ठाउँमा प्रत्यारोपण सहज पनि छैन । कमजोर आर्थिक अवस्थाका कारण छिमेकी मुलुक गएर उपचार गर्न उहाँको अवस्था लामिछानेको थिएन । परिवारकै सदस्यबाट प्रत्यारोपण गर्नुपर्ने र यसबाट खर्च समेत कम हुने भएकाले उहाँले परिवारसँग सल्लाह गर्नुभयो ।
तीन छोरी र दुई छोराका बाबु लामिछानेको प्रत्यारोपणका लागि परिवारमा छोरा÷बुहारीसँग रक्त समूह मिलेन । रोगले दिनानुदिन च्याप्दै जानु र प्रत्यारोपणका लागि उपयुक्त व्यक्ति नपाउँदा लामिछानेले जीवनको आस मारिसक्नुभएको थियो ।

तर अन्तिममा जेठी छोरी पोखरा–३० पावरहाउस बस्ने रञ्जना लामिछाने बरालको ‘ओ पोजिटिभ’ रक्तसमूह भएकाले प्रत्यारोपण गर्न मिल्ने भयो । त्यसका रञ्जनाको घरबाट समेत स्वीकृति मिल्यो । रञ्जनाले बाबुको जीवन बचाउन जोखिम उठाउनुभयो र आफ्नो कलेजो बाबुलाई दिन तत्कालै तयार हुनुभयो ।
साहस पूर्वक आफ्नो कलेजो दिएर बुबालाई नयाँ जीवन दिन रञ्जना तयार भएपछि लामिछानेको गत आइतबार भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।
कलेजो रोगका कारण थलिएर जीवन मरणको दोसाँधमा उभिनुभएका लामिछानले छोरीले कलेजो दिएपछि पुर्नजीवन पाउनुभएको छ । छोरी रञ्जनाले साहशपूर्वक आफ्नो कलेजो दिन तयार हुनुभएको र अहिले बाबु छोरी दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छोरा सुशीलले बताउनुभयो ।
“बुबाको कलेजो प्रत्यारोपण गर्नुनै थियो तर मिलिरहेको थिएन । त्यसले गर्दा बुबालाई बचाउन सकिदैन कि भनेर हामी चिन्तित थियौँ ।”छोरा सुशीलले भन्नुभयो,“ अन्तिममा दिदीले दिन मिल्ने भएपछि बुबाको सफलतापूर्वक प्रत्यारोपण भएको छ । अहिले दुबै बुबा र दिदी दुबै जना स्वस्थ हुनुहुन्छ, कुनै समस्या छैन। ”
आफ्नो कलेजो बुबासँग मिल्नु र प्रत्यारोपण कार्य सफल भएपछि रञ्जना पनि खुशी हुनुहुन्छ । बाबु÷आमाका लागि जस्तोसुकै अप्ठ्यारो र दुखमा साथ दिनुपर्ने छोराछोरीको कर्तव्य आफूले पूरा गर्न पाउँदा धेरै खुशी लागेको दिदीले बताएको सुशीलले बताउनुभयो ।दिदीलाई एक हप्ता र बुबालाई दुई हप्ताजति अस्पतालमा राख्नुपर्ने चिकित्सकले बनाएको जानकारी दिनुभयो ।