हिमाली आवाज । कास्की र गोरखामा भएका सडक दुर्घटनाबाट मानवीय क्षति भएकोमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले दुःख व्यक्त गरेको छ ।
पार्टीका गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले आज एक शोक वक्तव्य प्रकाशित गर्दै दुबै घटनामा भएको मानविय क्षतिबाट पार्टी दुखित भएको जनाउनुभएको हो । माओवादीले दुर्घटनामा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

अध्यक्ष गुरुङले दुर्घटनामा निधन भएका सबै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनममा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
यही चैत १७ गते काठमाडौँबाट गोरखा आउँदै गरेको ट्याक्सी मुग्लिन नजिक त्रिसुली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको तथा एक जना बेपत्ता भएका थिए भने यही चैत १८ गते कास्कीको अन्नपूर्ण गाउँपालिकामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु र १० जना घाइते भएका थिए ।
मुग्लिन नजिकै भएको दुर्घटनामा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन गोरखा नगर सचिव टेक बहादुर उपरकोटीकी जीवनसंगी हरिमाया उपरकोटी, छोरा आगमन उपरकोटी, सासू आमा जुनकिरी रोका सहित पारिवारका सदस्यहरु अञ्जना रोका, अर्जुन शिमलको निधन भएको थियो । सो घटनामा परेका दिवश रोकाको अवस्था अज्ञात रहेको छ ।
माओवादी केन्द्रले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना तथा बेपत्ता यात्रुको खोजीका लािग सम्बन्धित निकायमा माग गरेको छ । यसैगरी दैनिक रुपमा भइरहेका सडक दुर्घटनालाई न्यूनीकरणको पहल गर्न समेत माओवादी केन्द्र गण्डकीले माग गरेको छ ।