साढे तीस लाख बढीको आलु बिक्री गर्दै सकियो महोत्सव

हिमाली आवाज । आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ ।
गत चैत २५ गतेदेखी सुरु भएको आलु महोत्सव बुधबारसम्म रु तीस लाख ६५ हजार सात सय २० को आलु बिक्री गर्दै सम्पन्न भएको ।

महोत्सवस्थलबाट कूल ७६ हजार छ सय ४३ केजी आलु बिक्री भएको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिनुभयो ।

महोत्सवस्थलमा आलु बिक्रीका लागि पहाड निर्माण गरिएको थियो । प्रतिकेजी रु ४० का दरले आलु बिक्री गरिएको थियो । कूल तीन हजार चार सय ४५ घरपरिवारले आलु खरिद गरी लगेको तिमिल्सिनाले बताउनुभयो ।

कास्की, गोरखा, म्याग्दी, मुस्ताङ, स्याङजा, चितवन, बुटबल, बाग्लुङ, तनहुँ, लगायत काठमाण्डौबाट समेत मानिसहरु आलु खरीद गर्न आएको बताइन्छ ।

प्रति घरपरिवारले न्यूनतम पाँच केजी देखी अधिकतम तीन सय केजी आलु खरिद गरेका हुन् । हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वास्थ्यकर मानिने भएकाले उपभोक्ताको आकर्षण बढ्ने गर्दछ । यसैगरी महोत्सवभर आलु लगायत अन्य सामग्री समेत गरी रु तीन करोड ७० लाखको कारोवार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सव समापनका अवसरमा अग्रज कृषकलाई सम्मान गरिएको छ । आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बाँनियाँ, हरिमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सिना लाई नगद सहित सम्मान गरिएको हो ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी लगायत रहेका थिए ।

‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव भएको हो ।

कास्कीमा एक हजार दुई सय ५३ हेक्टर जमिनमा आलु खेती गरिन्छ । जसबाट वार्षिक २१ हजार पाँच सय १० टन उत्पादन हुँदा हेमजामा पाँच सय हेक्टर क्षेत्रफल जनिमा आलु खेती गर्ने गरिएकामा पाँच हजार टन उत्पादन हुने गरेको छ ।

हेमजामा एमएस २२,जनकदेव, खुमलटार रातो लगायतका आलु खेती गरिन्छ । यहाँका पाँच सय ४० घरपरिवार किसान व्यवसायिक रुपमा आलुखेतीमा आवद्ध छन्।

Comments
Loading...