वर्ल्ड ट्रायथोलनका अध्यक्ष नेपालमा, एसिया कपका लागि भोली पोखरा आउँदै

हिमाली आवाज । वल्र्ड ट्रायथलन अध्यक्ष मारिसोल कासाडो तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपग्नुभएको छ । नेपालमा पछिल्लो समय ट्रायथलन खेलको विकास र विस्तारले प्रभावित कासाडो सद्भावना भ्रमणका लागि नेपाल आउनुभएको हो ।

यसक्रममा उहाँ भोली शुक्रबार पोखरा आउनुहुनेछ । पोखरामा शनिबार २०२४ एसियनकप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसप हुँदैछ । यसमा १५ देशका ६४ भन्दा बढी खेलाडीको सहभागिता रहनेछ र यो वल्र्ड ट्रायथलनको मान्यता प्राप्त आधिकारिक प्रतियोगिता रहेको छ ।
नेपालले सन् २०१५ देखि साउथ एसियन ट्रायथलन र सन् २०१९ देखि एसिया ट्रायथलन कपको आयोजना गर्दै आएको छ । वर्ल्ड ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि नेपाल आउने कार्यक्रम रहेको छ र उहाँ शुक्रबार काठमाडौं आइपुग्नुहुनेछ ।

अध्यक्ष कासाडोकोलाई पूर्वमन्त्री एवं नेपाल ट्रायथोलन संघका पूर्व अध्यक्ष गणेशमान पुन, नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गर्नुभएको थियो ।

अध्यक्ष मारिसोल कासादो र महासचिव एन्टोनियो आरामानी च्याम्पियनसिपमा सहभागी हुने भएकाले ट्रायथोलन खेल सहित नेपालको समग्र खेलकुद क्षेत्रका लागि ठूलो महत्व रहेको नेपाल ट्रायथोलन संघका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“पहिलो पटक वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्षको उपस्थितिमा एसिया च्याुम्पियनसिप हुनु नेपालको खेलकुद क्षेत्रका लागि यो ठूलो खुशीको कुरा हो । खेलकुद क्षेत्रका लागि यसको पछिसम्म ठूलो महत्व हुनेछ ।”

Comments
Loading...