पोखरामा ‘दुआथलन’ च्याम्पियनसिप : नेपालका हिमाल र मञ्जुलाई उपाधि(फोटोहरु सहित)

हिमाली आवाज । नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा आज ओपन तथा राष्ट्रिय दुआथलन च्याम्पियनसिप सम्पन्न भएको छ ।

एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिप अन्तर्गतको ‘ओपन दुआथलन’को पुरुष तथा महिलाको प्रतिस्पर्धामा नेपाली खेलाडी च्याम्पियन बनेका छन् ।

दुआथलनमा ुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का च्याम्पियन बन्नुभयो । साढे सात किमी दौड र २० किमी साइक्लिङको निर्धायरत दूरी उपाधि विजेता टमटाले ५१ मिनेट २४ सेकेण्डमा पूरा गर्नुभयो ।

नेपालकै नवराज न्यौपानेले सो दूरी पार गर्न एक घण्टा तीन मिनेट ४७ सेकेण्ड लगाउँदै द्धितीय र लक्ष्मण मल्लले एक घण्टा चार मिनेट ५८ सेकेण्डमा दूरी पार गरी तृतीय बन्नुभयो । विजेता खेलाडीहरुले मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो ।

पुुरुषतर्फको खुला प्रतिस्पर्धामा नेपाल सहित भारत, बङ्गलादेश र जर्मनीका गरी नौ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ तीन खेलाडीमात्र सहभागी थिए । महिला ओपन दुआथलनमा च्याम्पियन बन्न सफल टोलीलाईनै राष्ट्रिय च्याम्पियन घोषणा गरिएको थियो ।

यसैगरी महिलातर्फको ‘ओपन’ तथा राष्ट्रिय च्याम्पियनसिपको उपाधि विजेता खड्काले निर्धारित दूरी एक घण्टा १९ मिनेट ४५ सेकेण्डमा पूरा गर्नुभयो । पुष्पा रोकायले एक घण्टा २३ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेर द्धितीय बन्दा प्रमिला धमलाले एक घण्टा २८ मिनेट ३४ सेकेण्डमा सो दूरी पूरा गरी तृतीय बन्नुभयो ।

यसअघि प्रतियोगिताको शुभारम्भ गण्डकी प्रदेशका आर्थिक मामिला तथ योजनामन्त्री हरिबहादुर चुमानले गर्नुभएको थियो ।
विजेता खेलाडीहरुलाई नेपाल ट्रायथलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक कोइराला, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, ट्रायथलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा,स्थानीय व्यवस्थापन समितिका संयोजक डिल्लीराज सुवेदी(शिशिर), पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Comments
Loading...