हिमाली आवाज ।पोखरा महानगरपालिका–४ गैहपाटनमा अवस्थित प्राईम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताको निक्षेप रकम अपचलन गरी ठगी गरेको अभियोगमा प्रहरीले आज आठ जनालाई पक्राउ गरेको छ ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अनुसार सो सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीहरुले निक्षेपकर्ताहरुको रु एक अर्ब ५४ करोड १५ लाख आठ हजार एक सय ४२ अपचलन गरेका छन् ।
सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको भन्ने जाहेरीपछि कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार पक्राउ पर्नेहरुमा सहकारीका अध्यक्ष पोखरा–१४ चाउथे बस्ने ४३ वर्षी शंकर कार्की, निर्वतमान अध्यक्ष पोखरा–४ गैहपाटन बस्ने ६६ वर्षीय निदेशप्रसाद कोइराला, सहकारीका व्यवस्थापक पोखरा–११ का निरु थापा केसी, कर्मचारी प्रमुख पोखरा–२७ अर्चले बस्ने ३७ वर्षीय सुरेन्द्रमणि पौडेल रहेका छन् ।

यसैगरी सहकारीका कानुनी सल्लाहाकार पोखरा–१३ का ५३ वर्षीय इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष पोखरा–३० निवासी ५२ वर्षीय कुलदिप भट्टराई, कर्जा अधिकृत पोखरा–३० का ३० वर्षीय सुनिल थापा र शेयर सदस्य एवं सल्लाहकार पोखरा–८ का ६९ वर्षीय मानबहादुर गुरुङ रहेका छन् ।
सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्र जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ शर्माले बताउनुभयो ।
सहकारी रजिष्ट्रारको कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी बचतकर्ताको रकम अपचलन तथा हिनामिनाका बारेमा सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गर्नका लागि आग्रह गरेको थियो ।
यसैगरी प्रहरीले सहकारीका बचतकर्तालाई सार्वजनिक सूचनामार्फत उजुरीको आह्वान गरेको छ । आगामी जेठ २० गतेभित्रमा आफ्नो बचतको प्रमाण खुल्ने कागजातसहित उजुरी दिन प्रहरीले आग्रह गरेको छ ।