गण्डकीका पत्रकारलाई सूचना प्रविधि सम्बन्धी तालिम

हिमाली आवाज । गण्डकी प्रदेशमा क्रियाशील पत्रकारहरुलाई सूचना प्रविधिको प्रयोग सम्बन्धी तालिम प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले यही असार ७ र ८ गते दुई दिनको तालिम आयोजना गरेको हो । तालिममा गण्डकी प्रदेशका नौ जिल्लाका ४० जना सञ्चारकर्मीको सहभागिता थियो ।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सहयोगमा तालिम आयोजना गरिएको हो । तालिमको उद्घाटन समारोहमा पूर्व प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले जनपक्षीय पत्रकारितामा जोड दिर्दै समाज वर्गीय भएजस्तै पत्रकारिता पनि वर्गीय हुनुपर्नेमा जोड दिनुभयो । हुँदा खाने श्रमीक वा श्रमजीविको पक्षको पत्रकारिता नै वास्तविक पत्रकारिता भएको उहाँको भनाई छ ।

प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले श्रमजीविको पक्षमा गर्ने पत्रकारिता नै जनपक्षीय हुने दावी गर्दै वर्तमान् समयमा परिवर्तनका एजेण्डाको पक्षमा गरिएको पत्रकारिता नै जनपक्षीय भएको औँल्याउनुभयो ।

राष्ट्रिय समाचार समितिका वरिष्ठ उपसम्पादक रमेश लम्सालले सर्वस्वीकार्यता, तथ्यको अभाव, सूचना स्रोतको गोपनियतामा र रक्षा साथै प्रस्तुतिमा निखारता वर्तमान् अवस्थाका पत्रकारिता कर्मका चुनौति भएको केलाउँदै नागरिकका मुद्धालाई प्राथमिकता दिन सुझाव दिनुभयो । प्रशिक्षक लम्सालले विशेषगरी जलविद्युत पत्रकारिताका विविध पक्षका बारेमा प्रशिक्षण प्रदान गर्नुभयो ।

तालिममा पूर्व प्रतिनिधिसभा सदस्य अधिकारी, प्रेस सेन्टर नेपालका महासचिव पौडेल, राष्ट्रिय समाचार समितिका वरिष्ट उपसम्पादक लम्साल तथा पत्रकार सुनिल पाण्डेले सहजीकरण गर्नुभएको थियो ।

त्यस अवसरमा पछिल्लो पटक विकसित सूचना प्रविधि, पत्रकारिताको मूल उद्देश्य, समाचारको मूल्य, मिसन तथा व्यवसायिक पत्रकारिता, विकास तथा जलविद्युत् पत्रकारिताका विषयमा छलफल भयो।

प्रेस सेन्टर नेपाल गण्डकीका अध्यक्ष अर्जुन काफ्लेले तालिम अत्यन्त फलदायी भएकाले सहभागीहरुले तालिममा सिकेको कुराहरु व्यवहारमा लागू गर्ने विश्वास व्यक्त गर्नुभयो ।  महासचिव सन्तोष गौतमले सेन्टरले पत्रकारहरुको वृत्ति र क्षमता विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै यस्ता तालिमहरु निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो ।
Comments
Loading...