हिमाली आवाज । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा पथ प्रदर्शकहरुलाई एक दिने पुर्नताजगी तालिम दिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (सस्टेनेवल टुरिजम फर लाईभलीहुड रिकभरी प्रोजेक्ट (एसटिएलआरपी)सँग मिलेर टान गण्डकीले शुक्रबार एक दिने पुर्नताजगी तालिम दिएको हो ।
२० जना महिलासहित कुल ८० जना सहभागी तालिममा पथ प्रदर्शक सम्बन्धित विषयमा प्राध्यापन गर्ने दीपक बास्तोला र दीपेन्द्र पहारीले सहजीकरण गरेका गर्नुभएको थियो । पथ प्रदर्शक भएर १५÷२० वर्षदेखि काम गरिरहेकाहरुलाई अहिलेको समयमा अपडेट गराउन तालिम दिइएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिनुभयो । उ
हाँका अनुसार तालिममा पर्यटकलाई कसरी प्रभावकारी रुपमा गाईड गर्ने ?, म्याप रिडिङ, जिपीएस ट्रयाकिङ, पर्यटकसँग प्रभावकारी सञ्चार, आपतकालीन समयमा अप्नाउनुपर्ने सावधानी, अवैध क्रियाकलाप गर्ने पर्यटकलाई कसरी सम्झाउने र नमानेमा सुरक्षा निकायलाई दिने जानकारीबारे तालिम दिइएको हो ।
टान गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले कोभिडपछि गाउँ फर्केका पथ प्रदर्शकहरु पुनः काममा फर्किन लागेकाले उनीहरुलाई अहिलेको परिस्थितिसँग जुध्न र कुशल पथ प्रदर्शक बनाउनका लागि तालिम दिइएको बताउनुभयो । आचार्यले भन्नुभयो,‘कोभिडपछि गाउँ फर्केकाहरु बल्ल काममा फर्किन लागेका छन् । त्यसैले उनीहरुमा ग्यापिङ आएको छ । सोहि ग्यापिङ पुरेर कुशल पथ प्रदर्शक बनाउन तालिम प्रभावकारी रह्यो ।’
तालिममा सहभागी पथ प्रदर्शक गणेश दाहालले तालिममा सिकेका कुराले पथ प्रदर्शनका क्रममा उत्कृष्ट सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।