मादी र अन्नपूर्ण गाउँपालिकामा भोली ट्होटेँको बिदा

हिमाली आवाज । कास्कीका दुई स्थानीय तहले आदिवासी जनजाति तमु(गुरुङ) को मौलिक एवं परम्परागत पर्व ट्होटेँका अवसरमा भोली साउन २९ गते स्थानीय बिदा दिएका छन् ।जिल्लाका मादी र अन्नपूर्ण गाउँपालिकाले सूचना जारी गरी गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट बिदा दिइएको जनाएका छन् ।

गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालयहरु, शैक्षिक संस्थाहरु तथा स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक बाहेकको सम्पूर्ण सेवाहरु बन्द हुने जनाएका हुन् ।

गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मङ्गलबार सडकमा निस्केर धुमधामका साथ ट्होटेँ पर्व मनाउदै आएका छन् । गुरुङ भाषामा ‘ट्हो’ भनेको राज्य र ‘ट’े भनेको धपाउने अर्थात राज्यबाट शत्रुलाई लखेट्ने भन्ने बुझिन्छ ।

विशेष गरी गण्डकी प्रदेशका कास्की, लमजुङ, तनहुँ, स्याङजा, पर्वत, लगायतका जिल्लामा बस्ने गुरुङले आफ्नो ऐतिहासिक एवं ठूलो सांस्कृतिक चाडका रुपमा ट्होटे मनाउने गर्दछन् ।

तमुधिँ नेपालले पोखरामा धुमधामका साथ ट्होटेँ पर्व मनाउने तयारी गरेको छ । तमुधिँका अध्यक्ष हुमबहादुर तमुले पर्वका अवसरमा पोखरामा विगतका वर्षहरुमा झैं यस वर्षपनि विभिन्न समाजघरहरुमा विभिन्न कार्यक्रम सहित पर्व मनाइने जानकारी दिनुभयो ।

Comments
Loading...