हिमाली आवाज । जिल्ला प्रहरी कार्यालय कास्कीले गत एक महिनाको अवधिमा २७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
कार्यालयका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि साउन १ देखि ३२ गतेसम्मका अवधिमा २२ पुरुष र पाँच महिला फरार प्रतिवादी पक्राउ गरिएको हो ।
पक्राउ परेका सबैले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुको कैद हिसाब गर्दा चार वर्ष नौ महिना दुई दिन हुन आउँछ । उनीहरुबाट रु दुई लाख १० हजार आठ सय २५ जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये चेक अनादार मुद्दामा १३, लागूऔषध मुद्दामा पाँच, चोरीसम्बन्धी मुद्दामा तीन जना, सार्वजनिक अपराध मुद्दामा दुई, आगो लगाएको सम्बन्धी मुद्दामा दुई र लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई जना छन् ।