मादीको चिप्ली गाउँमा आजदेखी महाशिवरात्री मेला सुरु हुँदै,गाउँस्तरीय भलिबल मुख्य आकर्षण

हिमाली आवाज । कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा आजदेखी महाशिवरात्री मेला सुरु हुँँदैछ । सो मेला यही फागुन १५ गतेसम्म सञ्चालन हुनेछ ।

चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबको आयोजनामा हुने मेलाको सबै तयारी पूरा भएको क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मेलाको उद्घाटन मादी गाउँपालिका अध्यक्ष देवीजगं गुरुङले गर्नुहुनेछ ।

‘चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबले ३७ औं वाषिकोत्सवको अवसरमा वर्षेनी आयोेजना गर्दै आएको महा शिवरात्री मेलालाई निरन्तरता दिएको छौँ । मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । अध्यक्ष गुरुङले भन्नुभयो,‘महाशिवरात्री मेलाले पर्यटकीय गाउँमा पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’

उहाँका अनुसार महाशिवरात्री मेलामा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता,छेलो प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, घैटो फुटाई प्रतियोगिता आयोजना गरिएको छ । भलिबल प्रतियोगितामा २० टोलीको सहभागिता रहने क्लबका निर्वतमान अध्यक्ष विशाल गुरुङले बताउनुभयो । उहाँका अनुसार गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ७० हजार र उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।यस्तै रस्साकस्सी प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छेलो प्रतियोगिताको विजेतालाई नगद १० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र फेटाले सम्मान गरिने आयोजकले जनाएको छ ।

यस्तै मेलाको अवसरमा टोल स्तरीय पुरुष बास्केटबल प्रतियोगिता समेत आयोजना गरिएको छ । बास्केटबल प्रतियोगिताको विजेतालाई बोका र उपविजेतालाई भाले, मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गर्ने आयोजकले जनाएको छ ।

मेलाको अवसरमा आयोजित घैटो फुटाई प्रतियोगिताको विजेताले ३ हजार रुपैयाँ र प्रमाणपत्र पत्र प्राप्त गर्नेछन् । मेलामा आयोजित छेलो, रस्साकस्सी, टोलस्तरीय पुरुष बास्केटबल प्रतियोगिता र घैटो फुटाई प्रतियोगितामा दर्ता शुल्क निशुल्क रहेको क्लबका सचिव अमृतमान गुरुङले बताउनुभयो ।

महाशिवरात्री मेलामा राष्ट्रिय तथा पोखराको आदिकला मञ्चका कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमहरुसमेत आयोजना गरिएको क्लबका सचिव गुरुङले बताउनुभयो ।महाशिवरात्री मेलाको मुख्य प्रायोजकमा मादी गाउँपालिका र सहप्रायोजकमा चिप्ली समाज युके रहेको छ ।
‘महाशिवरात्री मेलालाई स्थानीय सरकार मादी गाउँपालिका मुख्य प्रायोजक र सहप्रायोजकमा चिप्ली समाज युके रहेको छ’, निर्वतमान अध्यक्ष विशालले भन्नुभयो, ‘मेलाको अवसरमा आयोजित प्रतियोगिताले आपसी भाइचारासँगै ग्रामिण क्षेत्रबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’

कास्कीको उत्तरी भेगमा अवस्थित मादी गाउँपालिका–६ चिप्ली गाउँमा पोखराको काहुँखोला, काभ्रेडाँडा, छाचोक, मेलबोट, थाक, तप्राङ हुँदै चिप्ली गाउँ पुग्न सकिन्छ । पोखराबाट सवारी यात्रामा १ घण्टामा नै चिप्ली गाउँमा पुग्न सकिन्छ ।

Comments
Loading...