राजा फर्काउने मोहः इतिहास बिर्सिएको राष्ट्रवादको चाप

✍ राम नेपाली (आर्यन सीके)
हालै सामाजिक सञ्जालमा फेरि एउटा पुरानै नारा गुञ्जिन थालेको छ—“राजा आऊ, देश बचाउ!“
यो नारा मात्र होइन, एक मानसिक अवस्थाको अभिव्यक्ति हो—जहाँ जनताको असन्तोष, राजनीतिक थकान र परिवर्तनप्रतिको अधैर्यता मिसिएको छ। यसै सन्दर्भमा रास्वपाको मौनता, राजावादी चासो र गणतन्त्रप्रति वितृष्णा झल्काउने प्रवृत्तिहरूले एक प्रकारको ‘फ्रस्ट्रेटेड माइन्ड’ हरूको डम्पिङ साइट सिर्जना गरिरहेको देखिन्छ। उद्योग, राष्ट्रियता, आत्मनिर्भरता र स्वर्ण युगको कल्पनाका नाममा उठेका यी स्वरहरूलाई इतिहासको ऐनामा हेरौं।
उद्योग खोलिएको हो, तर जनताका लागि होइन
राजाको पालामा केही उद्योग खोलिएका थिए—हेटौंडा सिमेन्ट, गोरखकाली रबर, बुटवल धागो, बालाजु मेसिन कारखाना। यथार्थ के हो भने ती सबै उद्योग विदेशी सहयोगमा—सोभियत संघ, चीन वा भारतको आर्थिक र प्राविधिक साथमा खुलेका थिए। दरबारको निजी लगानी त के, दरबारले चर्पीसमेत बनाएको प्रमाण छैन।
त्यतिबेलाका उद्योगहरूमा म्यानेजरदेखि पिउनसम्म दरबारका नातागोता नियुक्त हुन्थे, जब कि साधारण जनताको छोराछोरीले गेट बाहिर मजदुरी गर्थे।
उद्योग खोलिएको तथ्यलाई आत्मनिर्भरता भन्न सकिन्छ त?
आत्मनिर्भरताको भ्रम
“हामी टायरमा आत्मनिर्भर थियौं“ भन्ने दावी बारम्बार गरिन्छ। तर त्यो ‘आत्मनिर्भरता’ कुन सन्दर्भमा?
त्यस समय देशभर चल्ने सवारी साधनको संख्या औंलामा गन्न मिल्थ्यो—दरबार, केही सरकारी कार्यालय र सीमित शहरबासीहरूसँग मात्रै गाडी थिए।
यदि वार्षिक ५० वटा टायर उत्पादन भयो र देशमा १० वटा गाडी थिए भने, त्यो आत्मनिर्भरता कि आत्म–प्रवञ्चना?
आत्मनिर्भरता भनेको जनताको खुट्टामा चप्पल पुग्नु हो, तीन पाथी नुन लिनका लागि भोट वा खस्यौली हिंड्दा हजुरबुबाको खुट्टामा परेको दाग हराउनु हो—लयत दरबारको गाडीमा टायर फिट हुन्।

२०४४ मा आइएमएफको ऋण र दरबारको झुकाव
२०४४ सालसम्म आइपुग्दा नेपालको अर्थतन्त्र यति धराशायी भइसकेको थियो कि बजेट बनाउने रकम समेत थिएन। त्यसबेला पञ्चायती दरबारले आइएमएफ सँग ऋण माग्यो। आइएमएफले सर्त राख्यो—“घाटामा गएका सार्वजनिक उद्योगहरू निजीकरण गर।“
र, दरबारले त्यो सर्त मानेर निजीकरण अवधारणामा ‘झुक्न’ बाध्य भयो।
यही कारणले दरबारनिकट गुटले ती उद्योग सस्तोमा किने, आफ्नो नियन्त्रणमा राखे। यसैले आज “उद्योग गणतन्त्रले बेच्यो“ भन्ने आरोप तथ्यविहीन छ, किनकि निजीकरणको जग पञ्चायती दरबारले नै खनेको थियो।
उद्योग किन बन्द भए?
राजाको पालामा खुलेका अधिकांश उद्योग घाटामा गए। कारणहरू स्पष्ट छन्—
– प्रविधिमा सुधार नहुनु
– उत्पादन लागत अत्यधिक हुनु
– व्यवस्थापनमा नातावाद हाबी हुनु
– दरबारमुखी नीति
यी कमजोरीहरूले ती उद्योगहरू जनताको हितको होइन, दरबारको शानका लागि बनेको भान पार्छ।
त्यसैले ती उद्योगहरू टिक्न सकेनन्, प्रतिस्पर्धा गर्न सकेनन्, र अन्ततः बन्द भए।
गणतन्त्रले दिएको विकल्प र चेतना
गणतन्त्रको आलोचना स्वाभाविक हो—भ्रष्टाचार, अनियमितता, लोभ–लालचको राजनीति जनताले अनुभूत गरेका छन्। तर गणतन्त्रले जनतालाई बोल्न, प्रश्न गर्न, असहमति जनाउन दिएको अधिकार नै यसको सबैभन्दा ठूलो उपलब्धि हो।
आज कोही अमेरिका बसेर “राजा आऊ“ भन्न सक्छ। त्यो स्वतन्त्रता गणतन्त्रले नै दिएको हो। राजतन्त्रको पालामा यस्तो असहमति व्यक्त गर्नु दण्डनीय थियो।

“मूर्ति चोरलाई मात्र उड्ने टिकट थियो, आवाज उठाउनेलाई होइन।“
विदेशिएका युवाः समस्या, तर सन्दर्भ फरक
राजावादीहरू भन्छन्—“देश रित्तियो, युवा विदेशिए।“ तर के इतिहास बिर्सिए?
पञ्चायतकालमा नै हजारौं नेपालीहरूलाई ब्रिटिश सेनामा भर्ती गरियो। पहिलो र दोस्रो विश्वयुद्धमा मात्र ५० हजारभन्दा बढी नेपालीहरूलाई युद्धमा पठाइयो। उनीहरू भारत, बर्मा, लाहोरदेखि मणिपुरसम्मको भूमिमा लडेर मरे।
राजतन्त्रले रगत बेच्यो, आजको युवा पसिना बेच्दैछ—घर बनाउने, छोराछोरी पढाउने, जीवन चलाउने। तर आजका युवालाई ‘बेचिएको’ भन्नु त्यो इतिहास नबुझेको लक्षण हो।
जब रगत बगाउन पठाउनेलाई राष्ट्रगौरव भनियो, श्रम बेच्नेलाई राष्ट्रघाती भन्नु कति न्यायसंगत हो?
रास्वपाको उदयः मोह, आक्रोश कि विकल्पविहीनता?
रास्वपाको उदय कुनै सिद्धान्तको होइन, जनतामा जमेको आक्रोशको परिणाम हो। पुराना दलहरूको असफलता, भ्रष्टाचार र हेक्का नहुनेपनले जनता थाकेका छन्।
तर यही थकाइ र रिसमा भरिएर इतिहास भुल्नु गम्भीर गल्ती हो।
रास्वपा अहिले भ्रम, अधैर्यता र छद्म राष्ट्रवादको गन्ध बोकेको डम्पिङ साइट जस्तो देखिन थालेको छ। खुलेर भन्नुपर्छ—राजाको पुर्नस्थापनाको सपना देखाउनु राजनीतिक अवसादको लक्षण हो, विकल्प होइन।
निष्कर्षः चेतना बदलौं, व्यवस्था आफैं बदलिन्छ
राजतन्त्रले गल्ती ग¥यो, गणतन्त्रले पनि गरिरहेको छ। तर सुधारको आधार व्यवस्थाको रुपान्तरण होइन—नागरिक चेतनाको परिष्कार हो।
जबसम्म हाम्रो चेतना परनिर्भर, भ्रमित र भावुक छ, तबसम्म कुनै पनि व्यवस्था—राजा होस् या राष्ट्रपति—जनताको भलो गर्न सक्दैन।
हामीले अब पागल भएर भिरतिर हामफाल्न खोज्ने रामलाई राम–राम गर्दै हेरिरहनु हुँदैन। जरुरी छ—तारो समातेर घिसारेर भए पनि सचेतनाको बाटो तिर ल्याउनु।
लेखक परिचयः
आर्यन सीके, सामाजिक विश्लेषक तथा ‘हिमाली आवाज’ का स्तम्भकार हुनुहुन्छ ।

Comments
Loading...