हिमाली आवाज । कास्की जिल्लामा पहिलोपटक सार्वजनिक सेवाको होम डेलिभरी सेवा सुरु गरिएको छ।
हुलाक सेवामार्फत नागरिकका घरदैलोमै सेवा पु¥याउने उद्देश्यसहित अन्नपूर्ण गाउँपालिकाबाट राहदानी (पासपोर्ट) वितरण सेवा घरमै पु¥याउँदै यसको औपचारिक शुभारम्भ जिल्लामा गरिएको हो ।
अन्नपूर्ण गाउँपालिका–१, लेवाडे निवासी गीता अधिकारी र वडा नं २ ढिकुरपोखरी निवासी तारा ढुंगाना भण्डारीलाई उहाँहरूको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उहाँहरुको राहदानी हस्तान्तरण गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय कास्कीको अग्रसरता तथा अन्नपूर्ण गाउँपालिका र हुलाक निर्देशनालय पोखराको सहकार्यमा होम डेलिभरी सेवा सुरु गरिएको प्रशासनले जनाएको छ ।
सरकारको शासकीय सुधार कार्यक्रम अन्तर्गत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने कार्यक्रम अन्तर्गत यो कार्यक्रम सुरु गरिएको प्रजिअ शर्माले बताउनुभयो ।
मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले १०० बुँदे शासकीय सुधारको कार्यसूचीको बुँदा नं. २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले अन्नपूर्ण गाउँपालिका हुलाक सेवा केन्द्रको अनुगमन समेत गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीसँगको छलफलमा प्रजिअ शर्माले नागरिकलाई सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने विषयमा आवश्यक छलफल गर्नुभयो ।
अन्नपूर्ण गाउँपालिकाले यस सेवाबाट नागरिकलाई सहज, छिटो तथा झन्झटरहित सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता सेवाहरूलाई थप विस्तार गर्दै लैजान सरकारका विभिन्न निकायहरूसँग समन्वय र सहकार्य जारी राख्ने अध्यक्ष केसीले बताउनुभयो ।