-माधव शर्मा
हामी कहाँ परम्परादेखि कथा भन्ने चलन छ । कथा पढ्ने चलन छ । कथा सुन्ने चलन पनि छ । कतपय कथाहरु लिखित रुपमा भएकाले पढ
न पाइन्छ । केही लिखित रुपमा छैनन् । तिनलाई दन्त्यकथा पनि भनिआइएको छ । यो एकादेशका राजाले बनाएका मन्त्रीको कथा पनि यिनै कथाहरु मध्ये पर्दछ । धेरैले पढेका पनि होलान् । सुनेका पनि होलान् । कतिपयले पढेका सुनेका पनि छैनन होला । त्यो नसुनेको वा कतै पढेर पनि त्यसको तादम्यता आजको अवस्थासँग मिलाएर बुझ्न नसक्ने वा नचाहनेहरुका लागि यो कथा रमाइलै लाग्न सक्छ । लौ अब कथा सुरु गरौँ ।
एकादेशमा एउटा अति रमाइला राजा थिए । उनलाई विभिन्न खाने परिकारहरु रमाइ रमाइ खान धेरै मन पर्थ्यो । महाराजलाई स्वाद परेको र मिठो लागेको परिकारको स्वाद र त्यसको तारिफ आफ्नो मन्त्रीमण्डल बैठक र क्याविनेट बैठकमा मच्ची मच्ची नियमित रुपमा सुनाउने गर्दथे । एउटा मन्त्रीमण्डलको बैठकमा राजाले बैगुनको मर्ता अर्थात् हरियो भण्टालाई आगोको भुङ्ग्रामा पोलेर बनाइएको अचारको परिकार बारे लामै तारिफ गरेछन ।
राजाले त्यस सभामा वैगुन अर्थात् भण्टामा रहेका औषधीजन्य गुण त्यस्तो पोलेर मर्ता र अन्य बनाएर खाँदा आउने स्वाद बारे तारिफको पुल नै बनाए । प्रायजसो मन्त्रीमण्डल बैठकमा भण्टाको परिकार बारे बढाइ चढाइ तारिफ गर्ने र सबैलाई उक्त परिकार खान पनि हुकुम हुन थालेछ । त्यसपछि राजाको महाबाणीलाई मन्त्रीहरुले शिरोधार्य गरि भण्टाको परिकार बारे साना ठूला सभा गोष्ठी समारोह राति सम्म जनभेलाहरुमा पनि भण्टाको अचार बारे र त्यसको पौष्टिक गुण बारे मन्त्रीहरुले लामो आख्यान नै सुरु गर
न थाले । महाराजधिराजकै शब्दाबलीलाई पछ्याउँदै मन्त्रीले सार्वजनिक स्थलहरुमा भण्टाको स्वाद, त्यसमा रहेको खनिजजन्य तत्वहरुको गुण बारे सभा समारोहहरु आयोजना गरिने क्रमहरु चल्यो। केन्द्रिय राजधानी लगायत प्रदेश राजधानी, जिल्ला सदरमुकाम र गाउँ गाउँमा भण्टाको जय जयकार मनाउन थालियो । पुरै देश भण्टाको स्तुतिगानमा गुन्जियो । भण्टाको बत्तिस गुणको बखान मन्त्रीले गरे पछि मन्त्रीका आसेपासे ढोके छम्के र तानदान बोक्ने भरिया सम्मले भण्टाकै प्रसस्तिमा भजन गाउन थाले । पुरै मुलुक भण्टामैत्री बन्यो । राजाले नयाँ परिकारको खोज गरेको र र त्यसका गुणहरुको महत्त्व बुझेको नविन आविष्कारको सर्वज्ञ चर्चा परिचर्चाले गुन्जियो । समय यसरी नै बित्दै गयो ।
केही समयको अन्तरालपछि क्याविनेट बैठक बसेको थियो । यस बैठकमा सधैँ जज्वल्यमान देखिने राजा अलि मलिन देखिएका थिए । मन्त्रीहरुले आ- आफ्नो रिपोर्टिङ सुरु गरे । राजाको सबै भन्दा मन पर्ने मन्त्रीले भण्टाको मरताले मुलुकभरि प्रचार पाएको । थुप्रै तारिफ समारोहहरु आयोजना गरेको, भण्टाको प्रचार प्रसारमा असंख्य पत्रकार सम्मेलन आयोजना गरिएको कुरा सगर्व जाहेर गरे । अझ त्यस अभियानमा अरुले भन्दा आफ्नो व्यस्तता धेरै रहेको पनि भन्न भ्याए । भण्टा गुण प्रचार भएको रिपोर्टिङ सुनिरहँदा त्यसै पनि मलिन अनुहार बनाएका राजाको मुहार अरु बढी मलिन भयो ।
मन्त्रीको रिपोर्टिङलाई बिचमै रोकेर राजाले भने होइन भण्टा राम्रो चिज होइन रहेछ । यसको अर्को नाम नै वैगुन हो । वैगुन नाम हाम्रा पुर्खाले त्यसै राखेको होइन रहेछ । त्यसमा वैगुन नै वैगुन रहेकाले त्यसको नाम नै वैगुन राखेका रहेछनु । भण्टा खानाले शरिरमा अनेक विकार पैदा गर्छ, पेट ढुसिन्छ । दिशा पिसावमा कब्जियत गर्दछ । अझ त्यसको मारता ( अचार) त झनै विषाक्त हुने रहेछ । त्यस भण्टालाई गोलको आगोमा पोल्दा कोइला समेत टाँसिएर पिसियो भने खानै नहुने गरी तितो हुन्छ । यसले स्वास्थ्यमा गढबढी सम्म गर्छ । आजबाट तिमीहरुले सर्वसाधारण जनतालाई यसको वैगुन बारे जानकारी दिनू । सभा समारोह कार्यकर्ता भेला बैठकमा यसको अवगुण बारे अभियान चलाउन हुकुम जारी गरे ।
अब के चाहियो राजाको हुकुम भुइमा खस्न नपाउँदै मन्त्री तिनका कार्यकर्ता दुम्के ढोके पोसाकेहरु भण्टाको खोइरो खन्न र सत्तोसराप गर्न एकसाथ परिचालित भए । राजा र मन्त्रीका खल्तीमा पत्रकार पनि यूटर्न भएर भण्टालाई दिनहुँ सराप्न थाले । यसै विच जीवनभरि भण्टाको तारिफमा आफ्नो अमूल्य समय खर्च गरेका मन्त्रीले यस पटक भने भण्टाको मान मर्दन गर्न कुनै कसूर बाँकी राखेनन् । मन्त्रीको लामो भण्टा बिरोधी भाषा समापन भएर मञ्चबाट तल ओर्लिए पछि केही चेतनशील नागरिक र पत्रकारहरुले मन्त्रीलाई घेरेर सोधे, होइ मन्त्रीज्यू तपाईले त सार्वजनिक कार्यक्रम लगायत हामीसँगको अन्तर्वार्ताहरुमा पनि वैगुन अर्थात भण्टाको स्वाद, त्यसको परिकारको महत्त्व र त्यसमा रहेको जैविक गुणहरुबारे धेरै सकारात्मक कुराहरु गर्नुहुन्थ्यो तर आज एक्कासि किन भण्टाको अवगुण बारे लामो आख्यान गर्नुभयो हामी त अवाक भयौ । उनीहरुले आ- आफ्नो माइक मन्त्रीको मुखमा तेर्साउँदै प्रश्न गर्न थाले ।
कसरी यूटर्न हुनुभयो? किन यस्तो यूटर्न पत्रकारहरु सबैको जिज्ञासा थियो ।
मन्त्री साह्रै होसियार थिए । उनले गम्भीर भएर भने हेर्नोस् पत्रकारज्यूहरु, म राजाको मन्त्री हुँ, भण्टाको होइन । सरकारले मलाई मन्त्री पद पद दिइबक्सेको हो भण्टाले मलाई मन्त्री बनाएको होइन । महाराजाले भण्टाको तारिफ गरुन्जेल मन्त्री भएकाले मैले भण्टाको तारिफ गरेँ । अहिले महाराजले भण्टाको खिलाफ गरि बक्सेका कारण मैले भण्टाको विरोधमा उत्रनु नै पर्छ । म राजाको मन्त्री हुँ भण्टाको होइन बुझ्नुभो पत्रकार महोदय भन्दै त्यहाँबाट उम्किए । विचरा मन्त्री ।
शर्मा बरिष्ठ पत्रकार एव मेची महाकाली मिडिया साेसाइटी नेपालका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।