हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं.१ को नवनिर्मित कार्यालय भवनको सोमबार उद्घाटन गरिएको छ । सुविधा सम्पन्न उक्त भवनको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले नागरिकहरूलाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले वडा कार्यालयहरूलाई अधिकतम अधिकार प्रत्यायोजन गरिएको बताउनुभयो ।
पोखरा महानगरपालिकाको समग्र विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू बनाएर योजनाबद्ध विकासमा अगाडी बढिरहेको नगर प्रमुख आचार्यले बताउनुभयो । समुन्नत पर्यटकीय पोखरा निर्माणको दिशामा हातेमालो गर्दै विकास अभियानहरूमा जोडिन नगरवासीहरूलाई उहाँले आह्वान समेत गर्नुभयो । नगर क्षेत्रमा निर्माण भएका तर सम्पन्न प्रमाण पत्र नलिएका भवन तथा संरचनाहरू याथासक्य छिटो अभिलेखीकरण गरी सम्पन्नताको प्रमाण पत्र लिएर बस्न उहाँले अपिल समेत गर्नुभयो ।

उपप्रमुख मन्जुदेवी गुरुङले आफूहरू माथि नगरवासीले गरेको विश्वास, आशा र प्रतिवृद्धताको प्रतिकका रूपमा सेवा स्थलहरूलाई सुविधा सम्पन्न बनाइएको बताउनुभयो । विगतमा नागरिकहरूले सेवा लिने र दिने क्रममा थुप्रै समस्याहरू झेल्नु परेको उल्लेख गर्दै उहाँले क्रमशः त्यसलाई सुधार सहित वडा कार्यालय भवनहरू निर्माणको अभियान थालिएको बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग, वडा नं.१७ की वडाध्यक्ष राधिका कुमारी शाही योगी, वडा नं १ का वडाध्यक्ष साहारा प्रधान लगायतले नागरिकमैत्री सेवामा जोड दिनुभयो । २०८० चैत्र १५ गते सम्झौता भई तोकिएको समय २०८२ पौष ३० गते अगावै भवन निर्माण सम्पन्न भएको थियो ।
भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा साबिकको कार्यालयमा आगजनी तथा तोडफोड भए पनि नयाँ भवनबाट तत्कालीन व्यवस्थापन गरी सेवा सञ्चालन गरिएको थियो । हाल नागरिकहरूले उक्त सुविधा सम्पन्न भवनबाट सेवा लिइरहेका छन् ।
