हिमाली आवाज । भगवती युवा क्लब राखु भगवती,म्याग्दीको आयोजनामा सुलभ प्रिजेन्ट्स थ्री बाई थ्री (३×३) खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ ।प्रतियोगिता आगामी साउन २ गते पोखरा रंगशालास्थित कभर्ड हलमा आयोजना हुने भएको हो ।
प्रतियोगिताबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा क्लबले सामाजिक चेतना, अनुशासन, गतिशीलता, स्वाभिमान र विकास, क्लबको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै पहिलो पटक म्याग्दी बाहिर खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक सुलभ मल्लले जानकारी दिए ।
क्लबले राखु भगवती क्षेत्रमा हरेक वर्ष कोत पूजामा विशेष सहयोग, वडादशैं मेला सञ्चालन तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै पोखरामा आयोजना हुने प्रतियोगिताले खेलमार्फत युवाबीच आपसी भाइचारा, सद्भाव र एकता अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ ।

प्रतियोगितामा पुरुषतर्फ १५ तथा महिलातर्फ ५ टोलीको सहभागिता रहनेछ। तनहुँ, कास्की, म्याग्दी, काठमाडौं, पर्वतलगायत विभिन्न जिल्लाका खेलाडीहरूले प्रतिस्पर्धामा भाग लिने प्रतियोगिता संयोजक सुलभ मल्लले बताए ।
उनका अनुसार पुरुषतर्फ विजेताले ४२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने उपविजेताले २२ हजार २ सय २२ रुपैयाँ नगद, ट्रफी, मेडल र गिफ्ट ह्याम्पर पाउनेछन्। त्यसैगरी महिलातर्फ विजेताले २५ हजार २ सय २२ रुपैयाँ तथा उपविजेताले १५ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन ।
प्रतियोगितामा अमित मल्ल एण्ड फेमिलि यु एस ए बाट प्रथम पुरस्कार प्रायोजन रहेको छभने पावर्ड वाई एक्सट्रीम रहेको छ । संयोजक सुलभ मल्लका अनुसार प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।
पत्रकार सम्मेलनको सञ्चालन सुदिप वावुले गरेका थिएभने कार्यक्रममा विभिन्न ब्यक्तित्व, बास्केटवल संघ र रेफ्रीहरुको समेत सहभागीता रहेको थियो ।
