हिमाली आवाज । तीजका गीतमा महिलाका भावना, सामाजिक अवस्था र अधिकारका विषय समेटिँदै आएका छन्। पछिल्लो समय यस्ता गीत मनोरञ्जनमा मात्र सीमित नरही महिला सशक्तीकरण, उद्यमशीलता र आर्थिक आत्मनिर्भरताका विषय उठाउने माध्यमसमेत बन्न थालेका छन् ।
यही सन्देशसहित पोखरा–३१ स्थित बेगनासताल वराह क्षेत्रमा आज आयोजित प्रथम तीजगीत प्रतियोगितामा उज्ज्वल आमा समूह प्रथम भएको छ । पोखरा पार्टी मिडियाको आयोजना तथा बेगनासताल वराह क्षेत्र विकास संस्थाको समन्वयमा भएको प्रतियोगितामा विभिन्न महिला समूहले तीजगीतमार्फत सामाजिक तथा समसामयिक विषय प्रस्तुत गरेका थिए।
प्रतियोगितामा सिर्जना आमा समूह, स्याङ्खुदी पोखरा–२८ द्वितीय, सक्रिय आमा समूह पोखरा–३१ तृतीय तथा दिदीबहिनी महिला समूह पोखरा–३० र लगनशील आमा समूह सान्त्वना भएका छन् ।
प्रथम हुने समूहले रु २५ हजार, द्वितीयले रु १५ हजार, तृतीयले रु १० हजार तथा सान्त्वना हुने दुई समूहले रु पाँच–पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगिताको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष आदरणीय जानुका पराजुलीले परेवा उडाएर गर्नुभएको थियो।
उद्घाटन समारोहमा अध्यक्ष पराजुलीले धार्मिक तथा पर्यटकीय महत्व बोकेको बेगनासताल वराह क्षेत्रमा तीजगीत प्रतियोगिताको आयोजनाले संस्कृति र पर्यटनलाई एकैसाथ जोड्ने अवसर प्रदान गरेको बताउनुभयो।
उहाँले तीजगीत महिलाका भावना, पीडा, माइतीघरका समस्या तथा सामाजिक अवस्थालाई अभिव्यक्त गर्ने माध्यमका रूपमा विकास भएको उल्लेख गर्दै पछिल्लो समय महिला सशक्तीकरण, उद्यमशीलता र आर्थिक समृद्धिका विषयसमेत गीतमार्फत उठ्न थालेको बताउनुभयो।
महिलालाई चुलोचौकामा मात्र सीमित नराखी समाज परिवर्तन र विकासको संवाहकका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले महिला उद्यमशीलता, आर्थिक आत्मनिर्भरता र सशक्तीकरणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तीज नेपाली महिलाको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले यसको मौलिकता र सामाजिक सन्देशलाई संरक्षण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो।
पोखरा महानगरपालिका–३१ का वडा अध्यक्ष ढकनाथ कँडेलले बेगनासताल वराह क्षेत्रमा आयोजित तीजगीत प्रतियोगिताले धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने बताउनुभयो।
कार्यक्रममा कलाकार रामजी पौडेल, वराह क्षेत्र विकास संस्थाका अध्यक्ष सुरेन्द्र सापकोटा ‘भाट’, अञ्जना कँडेल तथा लेखनाथ उद्योग वाणिज्य संघकी सदस्य प्रतीक्षा रानाभाटलगायतले बेगनास वराह क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप स्थापित गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
प्रतियोगिताले तीजको सांस्कृतिक मौलिकतालाई संरक्षण गर्दै महिलाको सिर्जनशीलता र सामाजिक चेतनालाई अभिव्यक्त गर्ने अवसर प्रदान गर्नुका साथै बेगनास क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनालाई समेत उजागर गरेको आयोजक पोखरा पार्टी मिडियाका प्रवन्ध निर्देशक सिद्धान्त शाहीले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
