पोखरामा कात्तिक १४ देखी राष्ट्रिय सेपाक ताक्रो च्याम्पियनसिप

हिमाली आवाज । पोखरा रङ्गशालामा यही कात्तिक १४ गतेदेखी १७ गतेसम्म राष्ट्रिय सेपाक ताक्रो च्याम्पियनसिप हुने भएको छ ।
सो प्रतियोगितामा सात वटै प्रदेश र विभागीय टोली नेपाली सेनाको सहभागिता रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल सेपाक ताक्रो संघका केन्द्रीय अध्यक्ष नेत्रप्रसाद गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा पुुरुषतर्फ टिम रेगु, रेगु, क्वाड, डबल र टिम इभेन्टका खेलहरु हुनेछन् भने महिलातर्फ रेगु र क्वार्ड विधामा खेलाइनेछ ।
प्रतियोगिताको च्याम्पियन टोलीले रु ५० हजार तथा द्धितीय र तृतीय हुने टोलीले रु ४० हजार रु ३० हजार सहित ट्रफी र मेडल पुरस्कार पाउनेछन् । नेपालमा विसं २०५८ देखी यो खेल खेल्न सुरु गरिएको हो ।
प्रतियोगिताले आसन्न १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई सहयोग पुग्ने र समक्ष खेलाडी उत्पादन हुने अध्यक्ष गुरुङले बताउनुभयो ।
“राष्ट्रिय खेलकुदको तयारीका लागिनै यो प्रतियोगिता गरेका हौँ । यसबाट सहभागी टोलीले आफ्नो खेलाडीको प्रदर्शन मुल्याङ्कन गरी सुधार र खेल क्षमता विकासमा सहयोग पुग्नेछ । ” अध्यक्ष गुरुङले भन्नुभयो ।
प्रतियोगिताले पर्यटकीय सहर पोखराको थप प्रवद्र्धन तथा प्रदेशमा राष्ट्रिय खेलाडी उत्पादन र राष्ट्रिय खेलाडीका बीचमा पारस्परिक सम्वन्ध कायम गर्न सहयोग पुग्ने बताइन्छ ।
गण्डकी प्रदेश सेपाक ताक्रो संघका अध्यक्ष श्यामबहादुर श्रेष्ठले नयाँ खेलको रुपमा विकसित भइ विश्वभरी आकर्षक र माग बढ्दै गएको खेल गण्डकी प्रदेशमा पनि विकासको चरणमा रहेको बताउनुभयो । उहाँका अनुसार गण्डकीको नवलपरासीमा विशेषगरी यो खेल बढी खेल्ने गरिन्छ ।
पोखरामानै सम्पन्न भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा यस खेलमा पुरुषतर्फ दुई इभेन्टमा कास्य पदक र महिलातर्फ दुई खेल इभेन्टमा कास्य र रजत पदक प्राप्त गर्न सफल भएको श्रेष्ठले बताउनुभयो ।
“पोखरामा राष्ट्रिय च्याम्पियनसिपको आयोजनाले युवा खेलाडीलाई खेल्ने अवसर मिल्नुका साथै स्थानीय, जिल्ला तथा प्रदेशस्तरीय खेलाडी तथा खेलप्रेमीहरुलाई प्रतिस्पर्धात्मक खेल अवलोकन र रुची बढाउने छ । ” प्रदेश अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
नेपाल सेपाक ताक्रो संघले वर्षेनी देशका विभिन्न स्थानमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ । सेपाकताक्रो खेल फुटबल, भलिबल र जिम्नाष्टिक खेलको मिश्रित खेल हो ।
थोरै खेलाडी र सानो ठाउँमा खेलिने र बलमा हावा पनि नरहेको प्लाष्टिक सिन्थेटिकबाट बनेको हुनाले उफ्रेर टाढा नजाने भएकाले नेपाल जस्तो भूधरातलीय विकटता भएको स्थानमा प्रभावकारी हुने संघले जनाएको छ ।

Comments
Loading...