हिमाली आवाज २ साउन । भुटानमा सम्पन्न १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका लागि रजत पदक जित्न सफल खेलाडी बिनु जिटीलाई गण्डकी प्रदेश शारीरिक सुगठन संघले सम्मान तथा बधाई ज्ञापन गरेको छ।
प्रतियोगिताको १५५ सेन्टिमिटरभन्दा माथिको उचाइ समूहमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेकी जिटीलाई संघले नगद खादा तथा मालासहित सम्मान गरेको हो।
सम्मान ग्रहणपछि बोल्दै जिटुले सम्मानले आफूलाई थप उत्साहित बनाएको बताइन्। उनले खेलाडीको मेहनतको कदर हुने यस्ता कार्यक्रमले मनोबल बढाउनुका साथै आगामी प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्। आफूजस्तै अन्य खेलाडीलाई पनि नियमित रूपमा सम्मान गरिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा संघका सल्लाहकार जीवन घिमिरे र सदस्य देव भारतीले बिनु जिटुको उपलब्धिले गण्डकी प्रदेशसँगै देशकै गौरव बढाएको उल्लेख गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना व्यक्त गरे।
सोही अवसरमा लुम्बिनी प्रदेशमा सम्पन्न प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका संघका कोषाध्यक्ष शिशिर थापालाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमको समापन गर्दै गण्डकी प्रदेश शारीरिक सुगठन संघका अध्यक्ष प्रकाश पौडेलले प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमा संघलाई समावेश नगरिएकोप्रति ध्यानाकर्षण गराए। खेलकुद क्षेत्रको समग्र विकास, खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न राज्यको पर्याप्त सहयोग अपरिहार्य रहेको उनले बताए।
अध्यक्ष पौडेलले उत्कृष्ट खेलाडीहरूको सम्मान र प्रोत्साहनलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तिप्रति आभार व्यक्त गरे। कार्यक्रमको सञ्चालन संघका महासचिव महेश कुमार श्रेष्ठले गरेका थिए।
