गण्डकी प्रदेश शारीरिक सुगठन संघ खेलकुद परिषद्मा दर्ता, पायाे आधिकारिक मान्यता

हिमाली आवाज ।  गण्डकी प्रदेश शारीरिक सुगठन संघ प्रदेश खेलकुद परिषद्मा विधिवत् दर्ता भई आधिकारिक प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। संघले यसलाई शारीरिक सुगठन खेलको विकासका लागि ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ।

संघका अध्यक्ष प्रकाश पौडेलले जारी गरेको आभार सन्देशमा प्रदेश खेलकुद परिषद्मा आधिकारिक रूपमा दर्ता हुन सफल हुनु सम्पूर्ण खेलकर्मी, सदस्य तथा शुभेच्छुकहरूको साझा प्रयास, एकता र समर्पणको परिणाम भएको उल्लेख गरिएको छ।

अध्यक्ष पौडेलले संघको स्थापना र यहाँसम्मको यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, प्रेरणा र विश्वास प्रदान गर्ने संस्थापक, सल्लाहकार, खेलाडी, सदस्य तथा सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

उनले यो उपलब्धिलाई अन्तिम गन्तव्य नभई नयाँ सुरुवातका रूपमा लिँदै शारीरिक सुगठन खेलको विकास, खेलाडीहरूको हकहित संरक्षण तथा संस्थाको संस्थागत सुदृढीकरणका लागि अझ बढी जिम्मेवारी, इमानदारी र समर्पणका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संघले आगामी दिनमा प्रदेशभर शारीरिक सुगठन खेलको विस्तार, खेलाडीको क्षमता विकास तथा खेल संस्कृतिको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ।

Comments
Loading...