तमु धिंले भोटेकोशी बाढीपीडितका लागि जुटायो रु ७० लाख ४७ हजार

हिमाली आवाज । तमु धिं नेपालले भोटेकोशी बाढीबाट प्रभावित तथा पीडितका लागि राहतस्वरुप रु ७० लाख ४७ हजार ४९७ रुपैयाँ ८८ पैसा संकलन गरेको जनाएको छ ।

तमु धिं नेपालका अनुसार गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भदौ १४ गतेदेखि राहत संकलन अभियान सञ्चालन गरिएको थियो ।

अभियानमा तमु धिं नेपालको कार्यसमिति तथा विभिन्न समिति, तमु समाज, सङ्घसंस्था, भाइक्लब, चेलीबेटी परिवारलगायतबाट उक्त रकम संकलन भएको अध्यक्ष हुमबहादुर गुरुङले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।  संकलित रकम तथा सहयोगदाताको विवरण सार्वजनिक गर्दै तमु धिं नेपालले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।

संकलित रकम प्रधानमन्त्री उद्धार राहतकोषमा जम्मा गर्ने तयारी गरिएको तमु धिं नेपालले जनाएको छ । यसका लागि नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वमा यही असोज ५ गते रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

त्यसैगरी राहत संकलन अभियानअन्तर्गत सहयोगदाताको विवरण कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई समेत हस्तान्तरण गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

“ हामीले आह्वान गरेपछि स्वतस्फूर्त रुपमा यो सहयोग जुटेको हो । कतिपयले सिधै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्नुभएको छ । तमुधि अन्तगर्तका विदेशबाट समेत राहत रकम जम्मा भइरहेको छ । ” अध्यक्ष गुरुङले भन्नुभयो ।

Comments
Loading...