हिमाली आवाज । वर्षेनी युवा पलायन हुने तथ्यांक बढ्दो छ । दैनिकरुपमा तीनहजार नेपाली युवा बाहिरिने तथ्यांक छ । पछिल्लो वर्षका तथ्यांकमा नेपाली खाडीमूलकमा नभई यूरोपियन मूलक र अन्य देशमा पलायन हुनेको संख्या पनि उत्तिकै छ । देशमा भविष्य नदेख्दा युवामाझ वितृष्णा बढ्दो छ । पलायन भएका युवा देश फर्किए पनि के गर्ने प्रश्न छ ?
सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन यही विषयमा बहस भयो ।
‘ब्रेन गेन ः फर्केर के गर्ने ?’ शीर्षक बहसमा वक्ता स्वर्णिम वाग्ले र शृङ्खला खतिवडा हुनुहुथ्यो भने सहजकर्ता सोनिया अवाले । नेपाली विदेशिने संस्कृति लामो समयदेखि रहेको सुनाउनुभयो राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद चुनिएका स्वर्णिम वाग्लेले । श्रमको खोजिमा भौतारिने स्वरुप बदलिएको उहाँ बताउनुहुन्छ ।
‘रोजगारीको अवसरको खोजीमा नेपालीहरु भौतारिँदै खोज्दै मुग्लान झर्ने आर्मीमा आबद्ध हुने पूरानै हो यसको स्वरुप बदलियो । २१ औँ शताब्दीमा श्रम र पूजीँको अन्तरघुलन भूमण्डलीकरण चर्केको हो । क्यापिटल र लेबलको मुभमेन्ट भएको हो,’ उहाँले भन्नुभयो ।
समय चक्रले विकसित देशमा दक्ष जनशक्तिको आवश्यकता पारेपछि नेपालीले सो अवसरलाई सदुपयोग गरेको शृङ्खलाको भनाइ छ । अवसर देखिरहेका नेपालीले विकसित देशहरुको लचकतासँगै अवसरको ढोका प्रयोग गरेको उहाँले बताउनुभयो ।
‘समय चक्रले यस्तो बनायो विदेशी भूमिका युवा शक्ति, कामदारको कमी भयो विभिन्न दक्षताको चाहियो । त्यो कारणले उनीहरुले ढोका खोल्दै गए । नेपालीले देखिरहेको थियो । त्यसपछि नेपालीहरु जान थाले,’ उहाँले भन्नुभयो ।
अवसरको खोजीमा विदेश गइरहेका नेपालीलाई नेपाल फर्काउने रणनीति कस्तो जरुरी छ त ? बाध्यता र आवश्यकताका कारण विदेश होमिएका नेपाली फर्काउन समस्या नरहेको उहाँले सुनाउनुभयो । नेपाल फर्किसकेपछि उनीहरुलाई अडाई राख्ने अवसरको विषयमा प्रश्न चिन्ह खडा भएको उहाँको भनाइ छ ।
‘बाध्यता र चरम आवश्यकताले नेपाल छोडेर जाँदै छन् । उनीहरु खाडी मूलकमा गइरहेका छन् ।उहाँहरुलाई नेपाल फर्काउनु हाम्रो लागि च्यालेन्ज होइन तर फकाई सकेपछि कसरी नेपालमा राख्ने प्रश्न हो,’ उहाँले भन्नुभयो ।

यस्तै अर्को वर्ग छ । जसको आवश्यकता वा आर्थिक बाध्यता नेपाली छोड्नु पर्ने छैन । थप, नयाँ सिर्जनात्मक अवसरको लागि पलायन हुने वर्गलाई रोक्नु वा फर्काउनु चुनौती रहेको विचार उहाँको छ ।
‘दक्षता बढी होला त्यो डिग्राी म्याच हुने जागिर छैन आफनो त सुरक्षा भइहाल्यो अब आउने छोराछोरीको लागि उहाँहरु राम्रो अवसरको लागि नेपाल छोडेर जाँदै हुनुहुन्छ उहाँहरुलाई नेपाल फर्काउनु एकदम च्यालेजिङ कुरा हो,’ उहाँले भन्नुभयो ।
यी सबै समस्याको सम्बोधन गर्नका लागि ग्लोबल सिटिजन क्नसेप्ट महत्वपूर्ण रहेको स्वर्णिम वाग्लेको विचार छ । नीजि व्यवसायी वा लगानीकर्ता विदेशलाई कर्मथलो बनाएका नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण सजिलो बनाउनुपर्ने विचार उहाँको छ ।
‘ग्लोबल सिटिजनको कन्सेप्ट नेपाल छोडे पनि नेपाली नै हो भन्ने अवधारण ल्याउन सक्यो भने धेरै हुन्छ । नभनिएको होइन हरेक पञ्चवर्षीय योजनामा लगानी गर्न सहज गर्छौँ भन्ने छ तर त्यो वातावरण छैन,’ बाग्लेले भन्नुभयो ।
हार्भर्ड विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण शृङ्खला नेपाल फर्किनुभयो । आफनो लागि नेपालमा अवसर भएकै कारण फर्किएको भनाइ उहाँको छ ।
‘विदेशभन्दा नेपालमा मलाई अवसर भएर नै फिर्ता आएकी हुँ । नेपालमा एक हिसाबको उचाई पाइसकेपछि ग्लोबली केही गरौँ भन्ने थियो । ग्लोबल एरिनामा मैले केही गर्नुछ भने नेपाललाई नै लन्च प्याड बनाउँदा सबभन्दा भ्यालुएबल र सुनौला अवसर थियो,खतिवडाले भन्नुभयो ।
स्वर्णिम २० वर्ष विदेशी भूमिलाई कर्मथलो बनाएपछि नेपाल फर्किएका व्यक्ति हुनुहुन्छ । रामशरण महत लगायतका नेताले स्वदेश फर्किन घचघचाएपछि नेपाल फर्किएको उहाँले सुनाउनुभयो । अर्थशास्त्रमा स्नातकोत्तर गरेका स्वर्णिम फर्किएसँगै विभिन्न संस्थामा सल्लाहकारी भूमिकामा देखिनुभयो ।