पोखरा स्पोर्टस् अवार्डलाई पोखराका पर्यटन व्यवसायीले सघाउने

हिमाली आवाज । आगामी बैशाख ३१ गते पोखरामा आयोजना हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्ड भब्य र सभ्य बनाउनका लागि पोखराका पर्यटन व्यवसायीहरुले साथ दिने प्रतिवद्धता जनाएका छन ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखराका विभिन्न पर्यटनसम्बन्धी संघ–संस्थासँग गरेको छलफलमा उनीहरुले यस्तो प्रतिवद्धता जनाए । पोखरा स्पोर्टस अवार्ड संगै अयोजना गरिने स्पोर्टस् कनक्लेभ तथा विभिन्न ९ विद्यामा प्रदान गरिने अवार्डलाई प्रभावकारी बनाउन पर्यटन क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो ।

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्रदेशस्तरमै उत्कृष्ट कार्यक्रमका रूपमा स्थापित पोखरा स्पोर्टस् अवार्डले खेल क्षेत्र संगै पोखराको पर्यटनमा समेत ठूलो टेवा पुगेको बताउनुभयो ।

पर्यटन परिषदका पूर्व अध्यक्ष तथा पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले खेल पत्रकारहरुले राज्यले गर्नुपर्ने काम गरेको बताउदै राज्यले समेत खेलाडी र खेल क्षेत्रलाई सम्मान गर्न नसकिरहेको सन्दर्भमा गण्डकी प्रदेशमा रहेका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्ने गरी आयोजित पोखरा स्पोर्टस अवार्ड प्रदेश स्तरमै उत्कृष्ट कार्य भएको बताउनुभयो ।

नेपाल हवाइ खेलकुद संघ नाका पूर्व अध्यक्ष तथा पाटा नेपालका कार्यकारी सदस्य सुनिल भट्टराईले पोखरा स्पोर्टस अवार्डमा पर्यटन क्षेत्रलाई समेटेर लैजाने प्रयासप्रति आभार प्रकट ब्यक्त गर्दै सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

नाटाका प्रथम उपाध्यक्ष संगीता पौडेलले पर्यटन प्रवद्र्धनमा व्यवसायीलाई जोड्ने पहल सकारात्मक रहेको उल्लेख गर्दै आफ्नो संस्थाबाट पूर्ण साथ रहने बताउनुभयो ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष कृष्ण आचार्य ले साहसिक पर्यटन र खेलकुदलाई जोड्न सके कार्यक्रम अझ उत्कृष्ट बन्ने धारणा राख्दै आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय राजधानी पोखरामा प्रदेश स्तरमा आयोजना हुने खेलकुदको कार्यक्रमले पोखरामा पर्यटन भित्रयाउन सहयोग पुग्ने बताउदै आफ्नो संस्थाको तर्फबाट साथ र सहयोग रहने जनाउनुभयो ।
महिला पर्यटन व्यवसायी मञ्च ओटेफका अध्यक्ष ममता न्यौपानेले गण्डकी प्रदेशका खेलाडीहरुको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिने कार्यक्रम आफैमा उत्कृष्ट कार्य भएकाले सहकार्य गर्न पाउदा हर्सित भएको बताउनुभयो ।

पत्रकारहरुको संस्थाले आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रको साथ र सहयोगले आफुहरुमा थप हौसला बढेको पोखरा स्पोर्टस अवार्ड कार्यक्रमका आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले बताउनुभयो ।
आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिदै छ ।

 

Comments
Loading...