पोखराकी सुकमायाको ६३ वर्षमा नागरिकता पाउँदा खुशीको सीमा रहेन

हिमाली आवाज । पोखरा महानगरपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालको कार्यकक्षमा आइतबार अपरान्ह ६३ वर्षीया सुकमाया नेपाली हातमा नागरिकता लिएर हतार हतार प्रवेश गर्नुभयो ।

जेठी छोरी विष्णुमाया र नातिनी कन्चनसँगै वडाध्यक्षको कुर्सीमा पुगेर उहाँले दुई हात जोड्दै ‘हजुरलाई धेरै धेरै धन्यवाद, म आज धेरै खुशी भएकी छु’ भन्नुभयो ।सुकमायाको अनुहारको खुशी बाहिरै स्पष्ट देखिन्थ्यो, उहाँ दंग परेर हासिरहनुभएको थियो ।

कान कम सुन्ने एकल महिला सुकमायाले कल्पना समेत गर्नुभएको थिएन, यसरी नागरिकता पाउँला भनेर । नागरिकताको लागि धेरै सास्ती भएकाले समेत पाउने आस उहाँमा थिएन । आफूसँग नागरिकताका लागि केही प्रमाण नभएकाले जहाँ जानुहुन्थ्यो खिन्न मन बनाएर फर्कनुहुन्थ्यो ।

सुकमायाले जन्मेको ६३ वर्षपछि र विवाह गरेको ४५ वर्षपछि नागरिकता पाउनुभएको हो । पोखरा महानगरपालिका–२८ कालिकामा जन्मेकी सुकमायाको १७ वर्षको उमेरमा पोखरा–५ मालेपाटनका फुलबहादुर नेपालीसँग विवाह भएको थियो । उहाँका श्रीमान्को १२ वर्षअघि निधन भएको थियो ।

उहाँको न विवाह दर्ता थियो न त नागरिकतानै । नागरिकताका लागि कुनै अभिलेख र प्रमाण सुकमायासँग थिएन । आमाको नागरिकता नहुँदा उहाँका चार छोरी समेत नागरिकता पाउनबाट बञ्चित थिए ।

जव नातिनी(ठूली छोरी)को छोरी कन्चनको नागरिकता बनाउनुपर्ने भयो तब बल्ल सुकमायाको नागरिकताको खोजी भयो । नागरिकताका लागि उहाँसँग जन्मदर्ता, विवाह दर्ता लगायतका केही प्रमाण समेत थिएनन् ।

सुकमायाको मालेपाटनमा विवाह भएपनि उहाँहरु केही समयपछि त्यहाँबाट पोखरा–११ मा बसोबास गर्नुभएको थियो । त्यसपछि कहिले पोखरा–९ त कहिले पोखरा–१९ लामाचौरमा बसाई गरेकाले प्रक्रिया कहाँ सुरु गर्ने भन्ने समेत थिएन ।

जन्म घर देखी जिल्ला प्रशासन लगायतका धेरै ठाउँमा लामो मेहनतपछि नागरिकता पाएकाले समेत सुकुमायाको अनुहारमा खुशीको सीमा थिएन । सुकमायाले चार महिना लामो प्रयासपछि नागरिकता प्राप्त भएको र आमाको नागरिकता बनेपछि आफूहरुलाई अब सजिलो हुने छोरी विष्णुमाया नेपालीले बताउनुभयो ।

“आमाको नागरिकता बन्दा मेरो आफ्नै बने जस्तो भएको छ । अब धेरै खुशी लागेको छ । भोलीनै गएर मेरो र छोरीको नागरिकता बनाउँछु ।” विष्णुमायाले खुशी साट्नुभयो ।

वडाध्यक्ष विष्णुप्रसाद बरालले सुकमायाको नागरिकता सिफारिसका लागि लिखित प्रमाण केही फेला नपरेपनि उहाँका श्रीमान्को इतिहास खोज्दा यसै वडामा वसोसास गर्ने गरेको पुष्टि भएको आधारमा सिफारिस गरिएको बताउनुभयो ।

सुकमायाका श्रीमान्लाई चिने जानेका पाँच जना स्थानीयको सर्जविन मुचुल्का, प्रहरी रिपोर्ट र सूचना प्रकाशनपछि नागरिकता दिइएको बताउनुभयो ।

“नातिनीको नागरिकता बनाउँदा बल्ल हजुरआमाको प्रक्रियामा गएको हो । ढिलो गरी प्राप्त भएपनि अब उहाँका छोरीहरु र नातिनातिनीहरुलाई सजिलो भएको छ । आवश्यकता परेपछि मात्र सरकारी कार्यालयमा कागजपत्र बनाउन जाने प्रवत्तिका कारणले समेत नागरिकता प्राप्तिमा ढिलाई हुने गरेको छ । ” वडाध्यक्ष बरालले भन्नुभयो ।

पोखरा–५ का निर्वतमान वडाध्यक्ष समेत रहनुभएका सामाजिक अभियन्ता धनबहादुर नेपालीले जनप्रतिनिधि सहित आफूहरुले निरन्तर प्रयास गरेपछि नेपाली नागरिकले ६३ वर्षको उमेरमा भएपनि नागरिकता पाएको बताउनुभयो । जनप्रतिनिधिनै यसरी नलागेको भए नागरिकता पाउन असम्भव प्राय रहेको बताउनुभयो ।

उहाँले दलित र एकल महिला राज्यको सामाजिक सुरक्षाभत्तामा छुटे पनि अब त्यसका लागि समेत सहज हुने बताउनुभयो । “सुकमायालाई भत्ता पाइन्छ भन्ने समेत थाहा छैन । हामीले अब नागरिकता पाउनुभयो, अब सरकारले भत्ता दिन्छ भनेपछि झन् खुशी हुनुभएको छ । ” नेपालीले भन्नुभयो ।

Comments
Loading...