गुरुङ सम्पदा पदमार्गका ठाउँठाउँमा नक्सा सहितको साइनेज पोष्ट

हिमाली आवाज । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको सकृयतामा खोज, अनुसन्धान एवम् प्रवद्र्धन गरिएको गुरुङ सम्पदा पदमार्गका विभिन्न ठाउँका पदयात्रीको सहयोगलाई लक्षित गरी नक्सा सहितको साइनेज पोष्ट राखिएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा पदमार्ग अन्तर्गत सिक्लेस, ताङतिङ, याम्जाकोट, कर्पुडाँडा, सिङ्दी, पसगाउँ, भुजुङ, घनपोखरा, घलेगाउँ र पुमागाउँमा साइनेज पोष्ट राखिएको गुरुङ सम्पदा पदमार्ग कार्यक्रम संयोजक एवं सङ्घका संस्थापक अध्यक्ष बोबरजङग गुरुङले जानकारी दिनुभयो । पोखरामा उपयुक्त स्थान तय गरी राख्न लागिएको उहाँले बताउनुभयो ।

यस पदमार्गमा खोला, मनोरम पोखरी, ठूलाठूला खर्क, तालसँगै आकर्षक पाटनहरु भेटिन्छ । साथै अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खला नजिकैबाट अवलोकन गर्न सकिन्छ ।

पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकास हुनुपर्ने विषय उठिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङ जोडिने गुरुङ सम्पदा पदमार्ग घोषणा गरिएको थियो ।
सडक लगायतका कारण विभिन्न पदमार्गहरू हराउँदै, छोटिदै गएका अवस्थामा गुरुङ सम्पदा पदमार्ग महत्वपूर्ण विकल्प बन्ने विश्वास लिइएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो ।
“हामीले विगत ४÷५ वर्षदेखि यस पदमार्गको खोज, अध्ययन, अनुसन्धानसँगै प्रवद्र्धनमा सहयोग गरिहेका छौं”, उहाँले भन्नुभयाृे, “त्यसैस्वरुप यस वर्ष पदमार्ग क्षेत्रका विभिन्न ठाउँमा साइनेज पा्ेष्ट राखिएको हो ।”
आगामी दिनमा यसको राष्ट्रिय एवम् अन्तराष्ट्रिय प्रवद्र्धनका लागि पनि बोर्डका तर्फबाट साथ र सहयोगलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
साइनेज पोष्ट स्थापनासँगै उक्त क्षेत्रमा पदयात्राका लागि जाने पर्यटकहरू हराउने समस्या नहुने गुरुङ पर्यटन व्यवसयी संघ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले बताउनुभयो ।संघले साइनेट पोष्ट राखिएका स्थानको स्थलगत अनुगमन समेत गरेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमु (गुरुङ) का पुर्खाहरू यसै सम्पदा पदमार्गमा पर्ने क्होलासोँथरबाट अहिलेका बस्तीहरुमा फैलिएको इतिहाससँगै गुरुङ समुदायको प्ये ल्हुताँ मा मात्रै नभई क्होलासोँथरमा विभिन्न चरणमा स्वदेशी, विदेशी विशेषज्ञहरूले गरेको पुरातात्विक अध्ययनले पनि यस क्षेत्रको ऐतिहासिकता पुष्टि गरेको संघका संस्थापक अध्यक्ष बोबरजंज गुरुङको भनाइ छ ।

क्होलासोँथरको पुरातात्विक महत्वका भग्नावशेषहरुको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकेमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने बताउँदै उहाँले समग्र गुरुङसम्पदा पदमार्ग पदयात्रा पर्यटनको विशिष्ट गन्तव्य बन्ने बताउनुभयो ।
आगामी सन् २०२७ को सुरुदेखि नै यसलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँले बताउनुभयो ।

पदमार्ग क्षेत्रमा गरिएको खोज तथा अनुसन्धानका क्रममा एउटा मूल पदमार्गसहित एक दर्जनभन्दा बढी आवश्यकता र चाहनाअनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्गहरू पहिचान गरिएको उहाँले बताउनुभयो । यी पदमार्गहरूमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउन सक्ने उहाँको भनाइ छ ।

पोखराबाट मादी गाउँपालिकाको पर्यटकीय गाउँ ताङतिङ हुँदै क्रपु डाँडा, तप्रो, क्होलोसोँथर, ठूलेक, थुर्जु, दूधपोखरी, गुरुङ देउराली (नामुन पास) डाँफेखर्क हुँदै मनाङको चामे गाउँ पालिकाको तिमाङसम्म पुग्न सकिने गरी पदमार्गको पहिचान गरिएको छ । यही पदमार्गमा कास्कीका सिक्लेस, याङजाकोट, नागिधार, थाकलगायत गाउँका साथै लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, सिङ्दी, पसगाउँ, गिलुङ, घाम्राड, टक्सार, सिउरुङलगायत गाउँहरूबाट सुरु गरेर यिनैमध्येका विभिन्न गाउँमा आवश्यकता र चाहनाअनुसार छोटो तथा लामो दूरीका पदमार्गलाई प्रयोगमा ल्याउन सकिन्छ ।

भौगोलिक अवस्थितिका दृष्टिले यो पदमार्ग समुद्री सतहबाट एक हजार ६ सय मिटर उचाइको ताङतिङदेखि सुरु भई पदयात्राको उच्चविन्दु चार हजार नौ सय १० मिटर उचाइको गुरुङ देउराली (नामुन भञ्ज्याङ)सम्म रहनुले पनि यो साहसिक पदयात्राका लागि महत्वपूर्ण आकर्षण बन्न सक्ने देखिएको छ ।

Comments
Loading...